विराटनगर : मेट्रो न्युरो अस्पताल विराटनगरले मृत घोषणा गरेका व्यक्ति जीवितै रहेको पाइएको छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शव गृहमा राखिएका व्यक्ति दाहसंस्कारका लागि घाट लैजाने तयारी गरेकै अवस्थामा जीवित अवस्थामा पाइएको हो ।
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शव गृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहर जीवितै छन् ।
इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिवार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो ।
स्थानीय बस चोकमा आउने जाने गाडीमा सामान लोड अन लोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए ।
उनलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोसी अस्पताल निफर गरिएको थियो ।
उपचारका क्रममा कोसी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती सीता सदाले बताइन् ।
शनिवार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शव गृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको समाजसेवी राजेन्द्र पोख्रेलले बताए ।
सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित पाइएको स्थानीयको भनाई छ ।
अस्पतालले मृत घोषणा गरेर घर ल्याइएका सदाको दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, राम नामी, तिल, जौ, अबिरलगायत टीका, चुरा पोते आदि सामग्री किनमेल गरिसकेका थिए ।
उनको दाहसंस्कारपछि श्रीमतीले लगाउने कपडासमेत व्यवस्था गरिसकिएको थियो ।
साभार : गोरखापत्र दैनिक
प्रतिक्रिया