धरान : नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशालाको स्थापना गरिएको छ । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा प्रयोगशालाको स्थापना गरिएको हो ।
सोमबार जेनेभा यूनिभर्सिटी हस्पिटल, स्विजरलेण्डको सहयोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाड जोर्नी विभाग अन्तर्गत नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको बिपी प्रतिष्ठानका प्रवक्ता डा. अन्जु प्रधानले बताइन् ।
जेनेभाबाट आएका सो हस्पिटलका तीन जना विशेषज्ञको टोलीले बिपी प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई तालिम प्रदान गरेका थिए ।
टोलीमा डा. जेराल्डो डिकुलन (बाल हाड जोर्नी विशेषज्ञ), प्रा स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेको बताइएको छ ।
कतिपय मानिसहरूको मस्तिष्क पक्षाघातका कारण, विभिन्न शल्यक्रियाका कारण वा अन्य हाड जोर्नी सम्बन्धी कतिपय रोगका कारण हिँडाईकन चाल नमिल्ने, हिँड्नमा कठिनाइ हुने समस्या हुने गरेको छ ।
त्यस्ता मानिसहरूको हिँडाई वा चाल ठिक गर्न यस ल्याबले मद्दत पुर्याउने उदेशयले सो प्रयोगशाला स्थापना गरिएको हो
उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ ।
यस्ता बिरामीहरूको उपचारमा बिरामीलाई हिँड्न लगाई सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरू लिई उच्च प्रविधिको कम्प्युटरद्वारा सो भिडियो तथा ग्राफिक्सहरूको विश्लेषण गरी समस्याको पहिचान गर्दछ ।
यसबाट विशेषज्ञहरूलाई बिरामी उपचारमा मद्दत पुग्ने बताइएको छ ।
प्रतिक्रिया