विराटनगर : यस वर्ष धानको उत्पादन बढेको छ । अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको हो ।
मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोसी प्रदेश सरकारले जनाएको छ ।
कोसी प्रदेशमा यस पटक १३ लाख ८२ हजार एक सय ३७ मेट्रिक टन उत्पादन भएको कोसी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष भन्दा यस वर्ष ८३ हजार दुई सय ८२ मेट्रिक टन धान उत्पादनमा वृद्धि भएको निर्देशनालयले जनाएको छ ।
मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा रोपाइँ भएकोमा छुटफुट अवस्थामा रहेको वाग्मती प्रजातिको धानबाहेक काटिसकिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।
मोरङमा गत वर्षप्रति हेक्टर चार दशमलव आठ मेट्रिक टन धान उत्पादन भएकोमा यस पटक प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए ।
प्रमुख सिंहले मोरङमा यस पटक चार लाख १६ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको बताए ।
नेपाल सरकारले मोटो धानको मूल्यप्रति क्विन्टल रु तीन हजार एक सय ९२ र मध्यम धानको मूल्य रु तीन हजार तीन सय ६२ निर्धारण गरेता पनि मूल्यप्रति क्विन्टल रु तीन हजार तीन सय र मध्यम धानको मूल्य रु तीन हजार पाँच सय सम्ममा स्थानीय बजारमा कारोबार भइरहेको बेलबारी ११ लक्ष्मी मार्गका किसान रमेश दाहालले जानकारी दिए । विगतका वर्षमा भन्दा यस पटक धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित भएको बताए ।
मोरङमा धेरैजसो रञ्जित धान, राम धान, स्वार्ण लगायतको धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।
कोसी प्रदेशमा धान उत्पादन हुने जमिन तीन लाख ४० हजार ८२९ हेक्टर रहेको छ ।
कोसी प्रदेशको उच्च पहाडी जिल्ला सङ्खुवासभा र मध्य पहाडी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा भने गत वर्षभन्दा धान उत्पादन घटेको र यस्तै उच्च पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु तथा मध्य पहाडी जिल्लाको पाँचथर र इलाममा भने धान उत्पादन बढेको कृषि विकास निर्देशनालय कोसी प्रदेशले जनाएको छ ।
प्रतिक्रिया