मोरङमा गोली हानेर मारियो जंगली हात्ती, पुच्छर पनि गायब

सोमबार, १६ पुस २०८०
विराटनगर । मोरङको सुन्दरहरैँचामा गोली हानेर मारेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । उनका अनुसार मृत फेला परेको हात्तीको पुच्छर पनि गायब छ । घटनाको प्रकृति हेर्दा गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए । माझी नेतृत्वको वन कर्मचारीको टोली र प्रहरी अहिले घटनास्थलमा छ । हात्ती मृत फेला परेको जानकारी स्थानीयले ८ः५० बजेतिर गराएका थिए । त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलतर्फ आँउदै गरेको जानकारी माझीले दिए । उनका अनुसार हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ । भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्ने उनले बताए । बिहान ४ः३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन् । घटनास्थलनजिकै सामुदायिक वनको नर्सरी छ । नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार गरिएको आशंका छ । गोली लागेपछि घस्रिदैं र रन्थनिदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको माझीले बताए । उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटरजति टाढा छ । स्थानीयले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रष्ट हुने माझीले बताए । चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशंका रहेको उनको भनाइ छ । प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको जानकारी माझीले दिए । कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताए । उनका अनुसार घटनास्थल रगताम्य छ । गोली लागेपछि हात्तीले रगत बान्ता गरेजस्तो देखिने उनको भनाइ छ । उनका अनुसार वनको नर्सरीदेखि हात्ती मृत भेटिएको स्थानसम्म रगतैरगत छ । भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा उधुम मच्चाइरहेको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको हो । हात्तीको आक्रमणबाट साउनयता झापामा ५, मोरङ र सुनसरीमा १/१ गरेर ७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिन्छ । उक्त हुलमा २७ वटाभन्दा बढी हात्ती रहेको बताइएको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको हो । कोशीका तराईका जिल्लामा गत मंसिर पहिलो साताबाट जंगली हात्तीको समस्या बढेर गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार