भोजपुरमा ३० वर्षअघि हत्या गरेर भागेका व्यक्ति ललितपुरबाट पक्राउ

सोमबार, १६ पुस २०८०
विराटनगर । भोजपुरमा ३० वर्षअघि एक युवकको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ४६ वर्षीय पूर्णहाङ राई रहेको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए । उनका अनुसार घटना भएको ३० वर्षपछि पूर्णहाङलाई ललितपुरको ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट पुस १४ गते बिहान पक्राउ गरेर भोजपुर ल्याइएको हो । देउसी खेलेको विषयमा विवाद हुँदा भोजपुरको साविकको कोट गाविस घर भएका राजधन राईको २०५० साल मंसिर ३ गते हत्या भएको थियो । पक्राउ परेका पूर्णहाङलगायतले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । घटनाको मतियारका रूपमा पूर्णहाङलाई अदालतले दोषी ठहर गरेको छ । घटनापछि उनी फरार थिए । कर्तव्य ज्यान मुद्दाको मतियारका रूपमा दोषी ठहर भएका अभियुक्त पूर्णहाङ सजाय भुक्तान नगरिकन भागिरहेको र हाल पक्राउ गरिएको डीएसपी पाठकले बताए । शुक्रदेव राईले खुकुरी प्रहार गरेर र पूर्णहाङलगायतले कुटपिट गरेर राजधनको हत्या गरेको अनुसन्धानबाट यकिन भएको थियो । अभियुक्तविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दाको फैसला जिल्ला अदालत भोजपुरले २०६१ भदौ २८ गते गरेको थियो । अदालतले मुख्य प्रतिवादी शुक्रदेवलाई २० वर्ष र घटनाका मतियार पूर्णहाङसहितलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । तर, कोही पनि पक्राउ परेका थिएनन् । प्रहरीका अनुसार २०५० कात्तिक २८ गते लक्ष्मी पूजाको दिन शुक्रदेव, पूर्णहाङलगायत २६ जनाको समूह देउसी खेल्दै राजधनको घर पुग्यो । मादक पदार्थ सेवन (मापसे) गरेर पुगेको समूहले देउसी खेल्दा दान–पैसा कम दिएको भन्दै मृतक राजधनका दाजु बागधन राईसँग विवाद गरेको थियो । विवाद मिलाउनलाई भनेर मंसिर ३ गते बोलाइएको पञ्चेतीमा झगडा हुँदा कुटपिट र खुकुरी प्रहार गरेर राजधनको हत्या गरिएको प्रहरीको भनाइ छ । डीएसपी पाठकका अनुसार हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेकै अवस्थामा मृत्यु भइसकेको जानकारी आएको छ । घटनामा दोषी ठहर भएपनि शुक्रदेवले कैद भुक्तान गरेका छैनन् । यस विषयमा थप अनुसन्धान गर्दै घटनामा संलग्न अन्य प्रतिवादीको खोजी जारी राखिएको पाठकले बताए । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर पूर्णहाङलाई सार्वजनिक गरेको छ । सोमबार नै अदालतमा पेस गरिएको डीएसपी पाठकले बताए । प्रहरीले बुझाएपछि उनलाई अदालतलेसजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार