धरानको केन्द्र भागमा रहेको घण्टाघर सौन्दर्यको एक पर्याय पनि थियो । हङकङमा रहेकोे घण्टाघर जस्तै डिजाइनमा डेढ दशक अघि बनेको धरान घण्टाघरको सौन्दर्य बारे देश तथा विदेशमा चर्चा थियो ।
२०६२ सालमा खुला गरिएको घण्टाघरको अवलोकन गर्न सर्वसाधारणहरुको भिड लाग्ने गर्दथ्यो । घण्टाघरबाट धरान नियाल्न र घण्टाघर परिसर भित्र रहेको उद्यानको अवलोकन गर्न सर्वसाधारण टिकट काटेर घण्टाघर परिसर प्रवेश गर्दथे । घण्टाघरमा अहिले पनि दैनिक ४–५ हजार दैनिक आम्दानी भइरहेको छ ।
तर घण्टाघर दिन दिनै कुरुप बन्दै गइरहेको छ । त्यसबेला घण्टाघर परिसरमा रोपिएका रुखहरुले घण्टाघर झ्याप्पै छापेको छ । ७६.५ फिट अग्लो घण्टाघर नजिकबाट समेत देखिदैन । घण्टाघर परिसर भित्र गणेश मन्दिर, भूकम्प स्मारक, उद्यान, आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने ठाउँ समेत छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे भन्नुहुन्छ –‘धरानको केन्द्रभागमा रहेको घण्टाघर अहिले कुरुप बन्दै गइरहेको छ, यसलाई अग्ला रुखहरुले छोपेको छ, तिनीहरुलाई काटछाट गरेर सुन्दर बनाउन आवश्यक छ ।’ धरान पूर्वी पहाड जाने मुख्य प्रवेशद्वार नै हो भने पहाडबाट तराई जाने मुख्य स्थान पनि हो । घण्टाघर अगाडी धरानको बसपार्क छ, जहाँ हजारौ यात्रीहरु दैनिक यात्रा गर्छन् । उनीहरुले धरानको घण्टाघर अवलोकन गर्दै यात्रा गर्छन् । प्रदेश सांसद रमेशकुमार बस्नेत भन्नुहुन्छ –‘धरानको मुख्य पहिचान घण्टाघर हो, यसलाई सुन्दर बनाउनुपर्छ यसको दायित्व हाम्रै हो ।’
तर अहिले घण्टाघरको घडि विग्रिएको महिनौ दिन बित्दा घडि समेत मर्मत भएको छैन । पहाडी रुटमा बुकिङ गर्ने एक कर्मचारी भन्छन् –‘धरान एक नं. प्रदेशका अन्य सहरमा जाने मुख्य हव हो, यहाँ चारैतर्फका मानिस आउछन् ।
घण्टाघर पहिला जस्तो सुन्दर देखिदैन, यसलाई यी रुखहरुले छोपेको छ । बास्तवमा भन्ने हो भने घण्टाघर देखिदैन एक झाडी जस्तो देखिन्छ ।’ धरानको पहिचान बन्न सफल धरान घण्टाघर अहिले अस्तव्यस्त देखिन्छ । यसको व्यवस्थापन सुधार गर्न धरान उपमहानगरपालिकाले ध्यान दिएको पाइदैन । धरानको मुख्य पहिचानको रुपमा रहेको घण्टाघर सुन्दर बनाउन नसक्नु र त्यसमाथी घडि समेत मर्मत गर्न नसक्दा यसले धरानलाई नै गिज्याइरहेको छ ।
प्रतिक्रिया