काठमाडौं । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । आफ्नो पहिलो सन्तानको जन्मको लागि उनी गत महिना नै अमेरिका पुगेकी हुन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र उपहार भने यही २५ फागुनबाट रिलिज हुँदैछ । उपहारको प्रचारको लागि रेखाले समयसमेत यतिबेला दिन सकेकी छैनन् ।
उपहारको प्रदर्शन मितिको गणना सुरु हुँदैगर्दा यो चलचित्रको शिर्ष गीत ‘हेरेको छैन‘’को भिडियो बिहीबार रिलिज गरिएको छ । गीतको भिडियोलाएई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । यो गीतलाई रविन भुसालले गाएका हुन् । जसमा अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रहेको छ ।
चलचित्रलाई अग्रज निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्,‘चलचित्रको अबधारण अनुसारको यो गीत रहेको छ र यो गीत दर्शकलाई मन पर्ने हाम्रो विश्वास छ ।’ देउजाले भने ।
यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री रेखा थापासहित, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, र सुष्मा कार्कीको अभिनय रहेको छ ।
उपहार सामाजिक विषयवस्तुमा आधारित चलचित्र रहेका र यसमा हाँस्यरसदेखि रोदनसम्मलाई समिश्रण गरिएको पनि निर्देशक देउजाले बताए ।
यो चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया