जापान पठाउने भन्दै ४१ जना युवाबाट तीन करोड बढी ठगी एउटा गिरोह फरार

विहीबार, ०५ माघ २०७९
जापान पठाइदिन्छु भन्दै ४१ जना युवाको तीन करोडभन्दा बढी रकम ठगी गरेर एउटा गिरोह फरार भएको छ । ठगी पर्नेमा मोरङका ४० जना नै राजवंशी समुदायका र झापाका एक जना छन् । उनीहरूलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी ३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले तीन करोड रुपैयाँ भन्दा धेरै ठगी गरी फरार भएको हो । अजयसहित उनका भाइ रन्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी संलग्न रहेको पीडितहरूले बताएका छन् । पीडितहरूका अनुसार राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम गरेर फर्किएका थिए । अजयले उठाएको रकम लिएर मुख्य योजनाकार भनिएका राजेन्द्र पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् । पीडितहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ । पीडितहरूले जापान जाने लोभमा उनीहरूलाई दुई लाखदेखि १८ लाखसम्म बुझाएका छन् । ‘जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ,’ ठगीमा परेका विवेक राजवंशीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनका क्रममा भने, ‘अहिले आएर विदेश पठाउने आश्वासन दिएको अजय नै सम्र्पकविहीन भएको छ ।’ एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरी कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार