इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुन्, दिवस पोखरेल । उपमहानगरका प्रवक्तासमेत रहेका उनी जनप्रतिनिधि हुनुअघि उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा बसेर पनि काम गरिसकेका छन् । अहिले इटहरीमा विविध कारणले व्यापार छाड्नेको सङ्ख्या बढिरहेको छ । कर वृद्धिसँगै घर बहाल करका कुराले पनि समस्या भइरहेको छ । नगरले व्यापारीको हितका निम्ति काम नगरेको आरोपसमेत उठिरहेको छ ।यसै विषयमा केन्द्रित रहेर समसामयिक विषयमा प्रदेश खबरका नवीन दहालले गरेको कुराकानीको सम्पादित अंश:-हाल के मा व्यस्त हुनुहुन्छ ?
हाल नगरपालिकाभित्रका वडावासीको काममा व्यस्त छु ।
तपाईँको वडामा कति मतदाता र घरधुरी छन् रु र ती घरहरू के प्रयोजनमा प्रयोग भइरहेका छन् ?
इटहरी–६ मा कूल मतदाता ४,७५० हो । घरधुरी सङ्ख्या १,८४० हो । यहाँ दैनिक एक लाख मानिसको चहलपहल हुन्छ । यहाँका घरहरू व्यवसाय सञ्चालन र बसोबासका निम्ति प्रयोग भइरहेका छन् ।
इटहरी उपमहानगर वा वडाले कर मात्रै उठायो, सेवा सुविधा दिएन भन्ने छ नि ?
कर भनेको नियमित प्रक्रिया हो । जो कोहीसँग उठाउने कुरा हुँदैन । जसले व्यवसाय गरेर आम्दानी गर्नुहुन्छ, जो लिपिबद्ध हुनुहुन्छ, उहाँहरूलाई उठाउँछौ । कर उठाउनु नियमित प्रक्रिया हो । कर अनुसारको सेवा प्रवाह पनि भइरहेको छ । सुविधा पनि दिइएको छ ।
इटहरी उद्योग वाणिज्य सघंले उपमहानगर र वडाबाट व्यवसायीको गुनासोमा बेवास्ता भइरहेको आरोप लगाएको छ नि ?
आरोप लगाउने भन्दा पनि इटहरी उद्योग वाणिज्य सघंले इटहरी वडा–६ मा व्यवसायीहरूको गुनासो या समस्या यी हुन् भनेर अहिलेसम्म आएको छैन । नगरमा होला, तर वडामा यी समस्या हुन् भनेर आउनु भएकै छैन । म आफै पनि उद्योग वाणिज्य सङ्घमा बसेर लामो समय काम गरेर आएको हुँ ।
म निर्वाचित हुनुअघि कर चुक्ताको आधारमा कर लिने गरिएको थियो । तर, वडाले व्यवसायीको मर्कालाई हेरेर पुँजी अनुसारको कर लिइरहेको छ ।
पुँजीका आधारमा मात्रै कर लिन थालिएपछि यो भन्दा अघि ५० हजार तिर्ने व्यसायीहरुले हाल ७–८ हजार मात्रै कर तिर्नु परिरहेको छ । यो व्यवसायीको गुनासोलाई सम्बोधन गरेको हो कि हैन ?
अर्को कुरा, नेपालभरि १० प्रतिशत हो घर बहाल कर । इटहरी उपमहानगरपालिकाले ५ प्रतिशत घरबाहल कर लिइरहेको छ । धेरै व्यापारीले आफै घर बहाल कर तिर्नु परेको छ ।
घर धनीले नतिरेको कारण हामीले सम्झौता पत्रमा व्यापारीले कि घर धनीले तिर्ने प्रस्ट रूपमा लेख्नुस् भनेका छौँ । कतिपय पहिल्यै सम्झौता भएको अवस्थामा व्यापारीहरूले तिर्नु पर्दा ५ प्रतिशत मात्रै कर लिएका छौँ ।
यो पनि व्यापारीको गुनासो हामीले सुनेको हो । हामीलाई कसैले पनि लिखित रूपमा पत्राचार गरेर यसो गरेको हैन । मैले आफै व्यापारीको पिर मर्का बुझी उपमहानगरसमक्ष अनुरोध गरेर यो काम भइरहेको छ ।
उचित पार्किङ नहुँदा सर्वसाधारण तथा व्यवसायीहरू अहिले समस्यामा छन् । पार्किङ समस्या समाधानको लागि वडाले के गर्दैछ ?
पार्किङको धेरै ठुलो कुरा उठेको छ । विराटनगर लाइनमा संरचना ‘क्लियर’ गरेर बाटो बन्ने क्रम जारी छ । धरान लाइनको सडकको १७ फिट जग्गा सडकको हो ।
हामीले कतिपय घर धनीहरूलाई भेटेर १७ फिट जग्गा खाली गरिदिनु भयो भने हामी १० फिट पार्किङ दिन्छौ भनेर भनेको अवस्था छ । सडकको जग्गामा बसेर अझै सडकमै पार्किङ मागेपछि गाडी पनि त कुद्नु परो नि । पूर्व–पश्चिमको पनि बाटोको काम सुरु हुन लागेको छ ।
पार्किङको लागि जग्गा नभएकाले गर्दा सडककै एउटा छेउमा पार्किङको व्यवस्था मिलाउँछौँ । तर सडकका कामहरू पूर्ण रूपमा ‘क्लियर’ नहुन्जेल पार्किङ यस्तै रहिरहन्छ । बाटो बनिसकेपछि साइडमा पार्किङ दिन्छौ ।
पार्किङका लागि पैसा पनि छुट्टियो । तर पार्किङ स्थल किन बनेन ? पार्किङको दीर्घकालीन समस्या समाधानको लागि केही योजना छ ?
पार्किङको लागि पर्याप्त ठाउँ नै छैन । बजारभित्रै जादुको भरमा बजार खाली गर्ने कुरा पनि भएन ।
हिजोको नगरपालिकामा नेतृत्व गर्नेहरूले दीर्घकालीन सोच नराख्दा सबै ठाउँहरू भरी सकेको छ । यो समस्या रहन्छ, कसरी समाधान गर्ने भनेर अन्डर ग्राउन्ड घरहरू खाली गराएका छौँ ।
पश्चिम लाइनमा एउटा घर ‘क्लियर’ भएको छ । पार्किङको लागि गर्ने भनेर एकचोटी सूचना पनि निकाल्यौँ । तर, कोही आउनु भएन । त्यहाँ ३–४ सय वटा मोटरसाइकल अट्छ । त्यस्ता खालका समस्याहरू छन् र त्यसको निदानको उपायहरु पनि हामीले खोजिरहेका छौँ ।
वडाका योजनाले खासै गति लिन सकेन भन्छन्, किन ?
म निर्वाचित भएर आउने बित्तिकै सबैभन्दा पहिले बजारभरि असरल्ल छरिएर गाडीहरू रहेका थिए । ती गाडीका लागि रिजलटाँसी छेउमा पार्किङ स्थल बनाएर बजार खाली गरायौँ ।
ट्राफिक लाइटको व्यवस्था गर्यौँ । लामो समय सार्वजनिक शौचालय थिएन । २ वटा सार्वजनिक शौचालय निर्माण गर्यौँ । बजारको पश्चिम भागको विशाल बजार क्षेत्रमा सम्झौता गरेर सार्वजनिक शौचालय सञ्चालन गरिरहेका छौँ । अहिले त्रिवेणी टोलमा २ वटा बाटोहरू कालोपत्रेको काम अघि बढिरहेको छ ।
ट्याङ्ग्रा खोलालाई सौन्दर्यीकरण गर्ने भनेर त्यहाँको घरहरू तोड्ने काम पनि गरिरहेका छौँ । खेती खोलामा पनि काम पनि गरिरहेका छौँ । ५ वर्षदेखि नछोएका खोला, पैनी र नालाहरू सफा गरिरहेका छौँ । सबै जनाको नजरले ती कुराहरू देखेको हुँदैन । हामीले गर्ने प्रयास गरिरहेका छौँ ।
राजमार्गमा गुड्ने सिटी सफारीको समस्या समाधान भएको हो कि बल्झिएको हो?
सिटी सफारीको समस्याको समाधान हुँदैछ । एकतर्फी हेर्ने हो भने गरी खान पाएनौँ । हामी यहीँ बसेर गरिखाने भन्ने कुरा उहाँहरूको छ । हामीले कागजपत्र अद्यावधिक हुनुपर्यो । सफारी राजमार्गमा गुडाइरहेका छन् ।
लाइसेन्स तथा कागजहरू अपडेट हुनुपर्यो भनेर प्रयास गरिएको छ । त्यसको काम भइरहेको छ । अहिले समस्याको समाधान हुँदैछ । लगभग इटहरीमा ६ हजार सिटी सफारी रहेको अनुमान छ । इटहरी उपमहानगरपालिकामा २५ सय दौडिरहेका हुन्छन् । यसलाई व्यवस्थापन गर्दैछौं ।
इटहरीका सडकमा ढलको व्यवस्थापन अझै गर्न सक्नु भएन । बर्सेनि बाढी आउँदा इटहरी डुबाउँछ । दीर्घकालीन समस्या समाधान गर्ने रणनीति के छ ?
इटहरी–६ को कुरा गर्दा गत दुई वर्षदेखि माटोले भरिएको नालीहरू सफा गरिरहेका छौँ । त्यसले गर्दा हाम्रो वडा डुबेको छैन । र कति हामीले नथापाएका नालीहरू पनि रहेछन् । वडालाई डुबानमुक्त गर्न पानीलाई निकास दिने काम गरिरहेका छौँ । इटहरी उपमहानगर गेटैको अगाडि पानी जमेकाले ‘अन्डर ग्राउन्ड’ पाइपमार्फत पानीलाई ‘बाइपास’ गरेका छौँ ।
इटहरी उपमहानगरको प्रवक्ता भएको नाताले इटहरी उपमहानगर अलि बढी प्रचारमा रमायो भन्ने आरोप छ नि ? के भन्नुहुन्छ तपाईँ यो विषयमा ?
काम गरेपछि देखाउनु र रमाउनुपर्छ । इटहरीमा अस्पताल छैन भनेर ठुलो आवाज उठेको थियो । तर, अहिले आवाज सुन्नु भएको छैन, किनभने अहिले अस्पतालको रङहरू फेरिएको छ । डक्टरहरू आउनु भएको छ । थप सिटी स्क्यान ,एमआरआईको पनि कामहरू गरिरहेका छौँ ।
गरेको कामहरू देखाउँदा त्यसलाई रमाएको भन्ने कि, के भन्ने ? भर्खरै नगर बसको ‘सर्भे’ गरेका छौँ । वैशाखदेखि नगर बस सञ्चालन गर्दैछौं ।
इटहरीको विराटनगर हटिया लाइन र धरान लाइनमा अत्यधिक भीड भएर आवाजजावतमा समस्या हुन थालेपछि आकासे पुलको योजना अघि बढाएका छौँ । त्यो काम यही वर्षको योजनामा हुन्छ । त्यस्तै, खालका क्रियाकलाप गरिरहेको कुराहरूलाई जानकारी गराउँदा रमाएको भनेर बुझ्ने कि, काम गरेको भनेर बुझ्ने ?
सार्वजनिक संरचना भत्काउने योजना नगरको कहाँ पुग्यो ? कि प्रचारमै सकिएको हो?
सार्वजनिक संरचना भत्काउने विषयमा नगरले निर्णय गर्यो । वडाले आफ्नो आफ्नो तरिकाले काम गर्ने हो । अरूले के गर्यो थाह छैन, वडा नं.६ भित्र परेको ट्याङ्ग्रा खोलाभित्र परेको संरचना भत्काउन अनुरोध गरेको छु । आफैँले पनि भत्काउँदै हुनुहुन्छ ।
यसलाई एउटा ठुलो प्रोजेक्टको रूपमा लिइएको छ । केही समयपछि त्यो काम हुन्छ ।
नगरको महत्त्वाकाङ्क्षी योजनाहरू कहाँ पुगे ?
अस्पताल सुधारदेखि नगर बस इटहरीका महत्त्वपूर्ण योजना हुन् । बजारमा मात्र नभई भित्र गाउँहरूमा पनि नगर बस लाने योजना छ । त्यसै अनुरूप काम भइरहेको छ । बाटोघाटोका सेवा सुविधा दिने कुरामा तीव्र गतिले काम अगाडि बढाइएको छ ।
इटहरीको बजारलाई चलायमान बनाउने कुनै योजना स्थानीय सरकारसँग छ ?
इटहरीलाई चलायमान बनाउन रात्रिकालीन बजारको ‘प्रोजेक्ट’ छ । अब फागुनदेखि यो प्रोजेक्ट अगाडि लिएर जान्छौँ । र इटहरी बजार चाहिँ सुत्दै सुत्दैन भन्ने सन्देश दिन खोजेका छौँ । त्यसको पनि तयारी हुँदैछ । त्यो पनि गर्छौँ हामी ।
चालु आर्थिक वर्षको ५ महिनाको राजस्व सङ्कलन निराशाजनक छ, यसमा के भन्नु हुन्छ ?
राजस्व निराशाजनक छैन । तर, कर घट्छ भन्ने एउटा म्यासेज गएका कारणले कति जनाले कर बुझाउनु भएको छैन । व्यावसायिक करमा कुनै गुनासो छैन ।
व्यावसायिक कर सबै सङ्कलन भइसकेको छ । सम्पत्ति र भूमि कर सङ्कलन भइराखेको छ । त्यस्तो केही छैन ।
लक्ष्य अनुसारको आम्दानी नहुँदा बजेट निर्माण र उपमहानगर सञ्चालनमा गाह्रो भइरहेको हो ?
त्यस्तो होइन । हाम्रो लक्ष्य अनुसारको काम भइरहेको छ । हामी ‘टार्गेट’मै छौँ । बजेट किताबमा रहेको ‘टार्गेट’ हामीले ‘मिट’ गरिरहेका छौँ । त्यस्ता कुनै पनि समस्या छैनन् ।
अन्त्यमा, वडावासीलाई के भन्नु हुन्छ ?
वडावासीहरूको सुझाव त अपरिहार्य छ नै । तर, यहाँहरूले पनि निर्वाचित जनप्रतिनिधिको मात्रै नभएर आफ्नो पनि दायित्व हो भन्ने बुझ्नुपर्छ ।
इटहरीलाई सफा र स्वच्छ बनाउन यहाँहरूको उत्तिकै भूमिका हुन्छ । यहाँ के देखिन्छ भने सङ्घ संस्थाहरू बजारतिर गएर यसो कुनै किसिमको टी–सर्ट लगाएर बढार्ने खालका कुराहरू गर्छन् ।
भोला गुड्का खाने र जथाभाबी फ्याँक्ने कुराहरू सामान्य लाग्न थाले । सरसफाइका दृष्टिले त्यो ठिक हैन । आफ्नो घर, आँगन र टोल सफा राखेर सभ्य नागरिकको परिचय दिन सबैमा अनुरोध गर्दछौँ ।
प्रतिक्रिया