'धरान एक्स्पोमा उत्साहजनक व्यापार भयो' : सुनसरी उद्योग वाणिज्य सङ्घ

सोमबार, २१ फागुन २०८०
धरान । स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ । यही फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा नेपालमा उत्पादितदेखि स्वदेशी तथा विदेशी औद्योगिक व्यापार उत्साहजनक रहेको आयोजकले बताएको छ । आयोजक समितिका सदस्य सचिव महेन्द्र प्रधानले एक्सपोमा एक लाख मानिसले अवलोकन गरेको बताए। साथै नौ करोडसम्मको व्यापार भएको प्रधानको भनाइ छ । अन्तर्राष्ट्रिय उत्पादनको माग बढी भएकाले सामग्री अझै मगाएको सचिव प्रधानले बताए । एक्सपोमा नेपालका विभिन्न जिल्लाको अर्ग्यानिक कृषि उत्पादनदेखि हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुका साथै भारत, बङ्गलादेश र पाकिस्तानलगायतका देशमा उत्पादित सामना राखिएका छन् । एक्सपोमा वराहक्षेत्रका कृषक अर्जुन राईले स्ट्रबेरि, बेसार, टमाटर, चाइनिज साग, बन्दाकोपी, खोर्सानीलगायत तरकारी एक्सपोमा बेच्न आएका छन् । गत वर्षको तुलनामा यस वर्ष व्यापारमा कमी भएको भए पनि व्यापारमा घाटा भने नभएको राईको भनाइ छ । स्वास्थ्यलाई ध्यानमा राख्दै विषादी रहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले विशेष टेवा पुर्‍याएको आयोजकले जनाएको छ । यसैगरी, धरानकै उद्योगी मनिता घिमिरेले आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन उद्योग सञ्चालन गरिरहेको बताइन् । सानो लगानीबाट साबुन व्यवसाय गर्न सकिने पनि घिमिरेको भनाइ छ । घिमिरेले पनि गत वर्षको तुलनामा यस वर्ष व्यापार कम भएको गुनासो गरे । एक्सपोमा मनोरञ्जनका लागि रोटे पिङ, नाउलगायत हरेक दिन राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । एक्सपोमा टिकट र पार्किङ शुल्क निःशुल्क गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार