यसै हप्ता ताप्लेजुङका १६ ठाउँमा डढेलो

शुक्रबार, ०२ चैत्र २०८०
  ताप्लेजुङ / पछिल्लो दुई हप्ताभित्र १६ वटा डढेलो (आगलागी) का घटना भएका छन्। सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलोका घटना भएका हुन्।   डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार यस हप्ता मात्र नौवटा सामुदायिक वन र सात वटा राष्ट्रिय वनमा डढेलो लागेको छ। वन जङ्गल नै सखाप हुने गरी डढेलोका घटना हुन थालेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानले जानकारी दिए । सहायक वन अधिकृत पासवानका अनुसार यस वर्ष पहिलो पटक फागुन १४ गते मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित झुरुमुरु चिहान डाँडा सामुदायिक वनमा डढेलो लागेको थियो। त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ। फागुन २४ गते एकै दिन चार वटा वनमा डढेलो लागेको पासवानले जानकारी दिए ।   उक्त दिन मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको थियो। यस्तै मिक्वाखोला गाउँपालिका–३ लिबाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा डढेलो लागेको थियो। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार फागुन २५ गते मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको कार्तिपाखा सामुदायिक वन र वडा ४ साँवाको माना भरा सामुदायिक वनमा डढेलो लागेको छ।   त्यसै गरी फागुन २६ गते मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा ५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ। फागुन २७ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको त्रिवेणी सामुदायिक वनमा डढेलो लागेको छ। त्यस्तै फागुन २९ गते पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङकै खैरेनी सामुदायिक वनमा डढेलो लागेको थियो भने सोही दिन फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको छ। वन कार्यालयको तथ्याङ्कअनुसार नै फागुन ३० गते सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा डढेलो लागेको छ। चैत १ गते बिहीबार सिदिङ्वा गाउँपालिकाकै वडा ६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ। विभिन्न ठाउँमा गरी करिब ४९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साहले जानकारी दिए । लामो सुख्खा मौसमका कारण अहिले आगलागी र डढेलोका घटना निरन्तर हुँदै आएको र तथ्याङ्क सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार