नरबहादुर थापा , पूर्वकार्यकारी निर्देशक नेपाल राष्ट्र बैंकपर्याप्त तरलता र ब्याजदर घटिरहेको अवस्थामा पनि कर्जा प्रवाह किन बढ्न सकेन ? यो अवस्था आउनुमा दुई वटा मुख्य कारण छन् । पहिलो, शिथिल अर्थतन्त्र र सरकारले दायित्व भुक्तानी नगर्दा आर्थिक गतिविधि चलायमान हुन नसकेको हो । यही कारण व्यवसायमा मन्दी आएको छ । यस्तो अवस्थामा निजी क्षेत्रले थप लगानी गर्न सकेन । दोस्रो, बैंकमा खराब कर्जा बढेकाले पुँजी कोष दबाबमा पर्दा यो अवस्था आएको हो । लामो समयदेखि बैंकमा पैसा थुप्रिनुपर्ने अवस्था कसरी आयो ? एउटा प्रमुख कारण तीनै तहका सरकारको वित्त नीति पनि हो । सरकारले एकातिर अपेक्षित रूपमा पुँजीगत खर्च गर्न सकेको छैन भने अर्कोतिर निर्माण व्यवसायी, दुग्ध किसान, कृषि बिमा, कोरोना बिमा, ब्याज अनुदानको कर्जा, निर्यात अनुदानलगायत दायित्व बापतको रकम भुक्तानी दिन बाँकी छ । प्रदेश र स्थानीय सरकारले पनि खर्च गर्न नसक्दा राष्ट्र बैंकमा पैसा थुप्रिएको छ । यसरी पैसा बजारमा नआउँदा निर्माण व्यवसायीले साँवाब्याज भुक्तानी गर्न सकेका छैनन् । यसले बैंकको खराब कर्जा बढाएको छ । सरकारी खर्च नहुँदा रोजगारीका अवसर पनि सृजना भएका छैनन् । यसले नागरिकको उपभोगमा कमी आएको छ । यो अवस्था आउनुमा राष्ट्र बैंक कत्तिको जिम्मेवार देख्नुहुन्छ ? राष्ट्र बैंककै कमजोरीका कारण विगतमा आक्रामक रूपमा कर्जा विस्तार भयो । राष्ट्र बैंकले पनि पैसा छापेरै पुनर्कर्जा सुविधा दियो । यद्यपि अहिले राष्ट्र बैंकले ‘कोर्स करेक्सन’ गरेको छ । जसअनुसार विगतका गल्तीहरू सच्याएर अघि बढिरहेको छ । यसकारण अहिले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिभन्दा पनि वित्तीय नीति बढी सक्रिय हुनुपर्छ । घटेको ब्याजदरमा निजी क्षेत्रले पनि उल्लेख्य रूपमा कर्जा विस्तार गर्न सक्थ्यो होला नि ? अहिले निजी क्षेत्रको आत्मविश्वास धेरै खस्किएको छ । राष्ट्र पुँजी निर्माण र लगानीमा निजी क्षेत्रको योगदान ८० प्रतिशत छ । सरकारको मात्र २० प्रतिशत हो । तर, निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहनका लागि सरकारले सुरुमा आफैं लगानी बढाउनुपर्छ । ताकि ८० प्रतिशत योगदान भएको निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न उत्साह मिलोस् । अहिलेको समस्याबाट निकास निकाल्न राष्ट्र बैंकले के गर्नुपर्ला ? अहिले राष्ट्र बैंकले मौद्रिक नीतिमा धेरै सुधार गर्नुपर्ने छैन । तर, कर्जा विस्तारको गति नियन्त्रण गर्न आउँदो असारसम्म बैंक तथा वित्तीय संस्थाले ०.५ प्रतिशत ‘काउन्टर साइक्लिकल बफर’ कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाले पुँजी कोषमा दबाब परेकाले बैंकहरूको कर्जा प्रवाह क्षमतामा कमी आउँछ । कर्जा विस्तारको गति बढाउन राष्ट्र बैंकले उक्त व्यवस्थालाई केही समय स्थगित गर्न सक्छ । अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रले के गर्नुपर्ला ? निजी क्षेत्रले सधैं मौद्रिक नीतिलाई मात्र गाली गरेर भएन । समस्या वित्त नीतिमा छ । वित्त नीति र मौद्रिक नीतिको प्रभावकारी समन्वयबाट अर्थतन्त्र सन्तुलित रूपमा अघि बढ्ने हो । अहिले मौद्रिक नीतिको दिशा वित्त नीतिले लय समाउन सकेको छैन । कमजोरी सुधारेर त्यसलाई पनि लयमा ल्याउनुपर्छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया