इलामबाट आठ महिनामा छ हजार बढी बिदेसिए

विहीबार, १५ चैत्र २०८०
इलाम / इलामबाट आठ महिनाको अवधिमा ६ हजार बढी वैदेशिक रोजगारीमा गएका छन् । सुरक्षित आप्रवासन सामी परियोजनाको तथ्याङ्क अनुसार गएको साउन देखी फागुन महिनासम्ममा छ हजार तीन सय ३८ जना इलामेली नेपाल छोडेर बिदेसिएका हुन् । परियोजनाले सुरक्षित आप्रवासनका लागि काम गर्दै आएको छ । इलाम सदरमुकाममा परियोजनाका बारेमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै वैदेशिक रोजगारीमा जाँदा काम सिकेर जाँदा हुने फाइदाका विषयमा चर्चा गरिएको थियो । साथै वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सहजकताका बारेमा समेत चर्चा गरिएको थियो । परियोजनाका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले परियोजनाले गर्दै आएको कामका बारेमा जानकारी गराएका थिए । उनले परियोजना सुरु भएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु तथा अङ्गभङ्ग भएका परिवारलाई क्षतिपूर्ति दिलाउन समेत सहयोग गरिएको जानकारी दिए । कार्यक्रम इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बु दाहालको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । यो परियोजना देशका ३८ जिल्लाका एक सय ५६ स्थानीय तहमा सञ्चालित छ । कोसी प्रदेशका आठ जिल्ला जिल्लाका ३२ पालिकामा सुरक्षित आप्रवासन सामी परियोजनाले काम गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार