ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिवार एकै दिन पाँच हजार बढी भक्तजनले दर्शन गरेका छन् । मौसममा सुधार आउन थालेसँगै पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लाग्न थालेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिवार भक्तजनको निकै भीड लागेको छ ।
यकिन तथ्याङ्क आइनसके पनि शनिवार एकै दिन पाँच हजार बढी भक्तजन पाथीभराको दर्शन गर्न पुगेका अनुमान गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।
उनकाअनुसार पूर्वका जिल्लाबाट अधिक भक्तजन पाथीभराको दर्शन गर्न आएका छन् । यस्तै सङ्घीय राजधानी काठमाडौँसहित टाढा–टाढाका विभिन्न जिल्लाबाट भक्तजनहरू आएर पाथीभराको दर्शन गरेका छन् ।
नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाटसमेत उल्लेख्य रूपमा भक्तजन आएका समितिले जनाएको छ ।
चैते दसैँ अर्थात् राम नवमी पर्व नजिकिएसँगै पाथीभरा दर्शनको मौसम सुरु भएको छ । बडा दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने हालको मौसमलाई दोस्रो सिजन मानिन्छ ।
पाथीभरा दर्शन गर्ने दोस्रो सिजन ९मौसम० भएकाले भक्तजनको बाक्लो आगमन सुरु भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष कर्की थेबेले बताए ।
यता मुख्य सिजन बाहेकका समयमा पनि भक्तजनहरूको आउजाउ बाक्लै हुने गरेको छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेकाले चिसो मौसममा भने केही न्यून तीर्थयात्री दर्शन गर्न पुग्ने गरेका छन् ।
बाँकी समयमा देश विदेशबाट उल्लेख्य सङ्ख्यामा भक्तजन आउने र पाथीभराको दर्शन गर्ने गरेका समितिको तथ्याङ्क रहेको छ ।
प्रतिक्रिया