विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–९ र हरिनगरा गाउँपालिका–३ को सिमानास्थित नहरनजिकको एकान्त स्थानमा दिनदहाडै गोली पड्काएर लुटपाट गरिएको छ ।
प्रहरीका अनुसार गोली पड्काएर त्रसित बनाउँदै मोटरसाइकलमा सवार व्यक्तिको साथमा रहेको झन्डै साढे ५ लाख रूपैयाँ नगद बुधबार दिउँसो २ः१५ बजेतिर लुटिएको हो ।
हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद लुटिएको खबर आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले बताए ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट लुटपाट भएको खुलेपनि घटनामा संलग्नको पहिचान भइसकेको छैन । अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कदै थिए ।
गोली पड्किएको जस्तो आवाज सुनेपछि उनले मोटरसाइकल रोकेका थिए ।अन्सारीले आफ्नो मोटरसाइकल रोक्नासाथ अर्को मोटरसाइकलमा रहेका ३ जना व्यक्तिले लुटपाट गरेको प्रहरीको भनाइ छ ।
अन्सारीको साथमा भएको पैसाको झोला लुटेर ३ जनाको समूह फरार बनेको जानकारी आएको एसपी पोखरेलले बताए ।
घटनामा संलग्नको पहिचान हुन नसकिरहेको र ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जानकारी उनले दिए ।
लुटपाट गर्नुअघि गोली पड्काएको भनिएपनि अन्सारी सकुशल छन् । घटनाका बारेमा प्रहरीले दिउँसो २ः४५ बजेतिर जानकारी पाएको हो ।
लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगन्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको एसपी पोखरेलले बताए ।
प्रहरीका अनुसार पीडितले पुरानो अपाचे मोटरसाइकलमा सवार रहेका व्यक्ति पैसाको झोला लुटेर भागेको बताएका छन् । लुटपाटमा संलग्नमध्ये २ जनाले कालो र १ जनाले सेतो रंगको कपडा लगाएको भनिएको छ ।
एसपी पोखरेलका अनुसार लुटेराको खोजीका लागि सशस्त्र प्रहरीसँग समन्वय गरेर नेपाल–भारत सीमा क्षेत्रमा समेत चेकजाँचलाई कडा पारिएको छ ।
मातहतका सबै प्रहरी युनिटबाट टोली परिचालन गरिएको उनले बताए । पोखरेलका अनुसार ठाउँठाउँमा चेकजाँचलाई तीव्र बनाइएको छ ।
प्रतिक्रिया