इलाम: घण्टीको माहौल बन्दै छ - रास्वपा उम्मेदवार मिलन लिम्बु

बुधबार, २१ चैत्र २०८०
इलाम  : इलाम क्षेत्र नम्बर दुई स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले घण्टी चुनाव चिन्हमा माहौल बन्दै गएको बताएका छन् । बुधवार इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पुराना दलबाट आजित भएका जनता घण्टी चुनाव चिन्ह प्रति आकर्षित भएको बताएका हुन् । उनले नयाँ पुस्ताको आकर्षण सुरु देखी नै रहेको भन्दै पुराना र बृद्धबृद्धाहरु समेत नयाँ दलमा आकर्षित भएको बताए । फरक प्रसङ्गमा उनले पहिचानका पक्षमा रास्वपा समेत रहेको भन्दै हरेक व्यक्ति र समुदायको पहिचान फरक फरक रहने बताए । एक आपसमा पहिचान स्विकार्नु पर्ने भन्दै उनले आफू पहिला देखी नै पहिचानको पक्षमा रहेको र पहिचानकै पक्षमा रहेको बताए । पत्रकारिता पेसाबाट राजनीतिमा लागेका उनी पहिला समाचार उठाएर समेत जनताकै काम गर्ने गरेको भन्दै अब राजनीतिबाट पनि जनताको सेवामा लाग्ने बताउँछन् । उनले अब नीति निर्माणमा समेत आफू लाग्ने बताएका छन् । इलाम क्षेत्र नम्बर दुईका धेरै क्षेत्रमा अझै पनि पानी, बिजुली, खानेपानी लगायतका समस्या रहेकाले तीनै समस्या समाधानमा आफू लाग्ने उनको भनाई छ । धेरै अगाडी सुरु भएका सडकको अवस्था अझै पनि सुधार नभएको र सहज रूपमा गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै उनले सो क्षेत्रका बासिन्दाले अझै पनि दुख भोग्नु परिरहेको बताए । किसानका समस्या बुझेको, भूगोल बुझेको भएका कारण पनि सो क्षेत्रका समस्या समाधानमा आफू लाग्ने भएपछि सो पाटीबाट टिकट पाएका उनको भनाई छ । इलाम क्षेत्र नम्बर दुईमा आगामी वैशाख १५ गते निर्वाचन हुँदै छ । यस क्षेत्रबाट निर्वाचित एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार