निरन्तरको सङ्घर्ष र आत्मविश्वासले सफलताको शिखर चुमेका ढकाल

शुक्रबार, ३० चैत्र २०८०
इटहरी- २०३३ सालमा मोरङको गछियामा जन्मिएका यादव ढकालको जीवनमा विभिन्न आरोह, अवरोह आए । तर, अवरोहको प्रवाह नगरी निरन्तर सङ्घर्ष र आत्मविश्वासका कारण उनी आज सफलताको शिखरमा छन् । घरका तीन दाजुभाइमध्ये यादव जेठो छोरा हुन् । स्वाभाविकै पनि जेठो छोरालाई घर, व्यवहारको जिम्मेवार पनि बढी नै हुन्छ । त्यही जिम्मेवारीलाई सानै उमेरदेखि काँधमा लिएर हिँडेका यादव हाल सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाको अध्यक्षसमेत छन् । हालको ग्रामथान गाउँपालिकास्थित पब्लिक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले सुकुना क्याम्पसबाट आइए उत्तीर्ण गरे । एसएलसी दिएको एक सातापछि डेरी उद्योगमा दूध कलेक्सन गर्ने काम सुरु गरेका उनले साइकलमै इटहरी र धरानसम्म दूध पु¥आउँथे । ‘हरैँचाबाट साइकलमा दुई पट्टी बाँधेर दूध ल्याउनुपर्थ्यो,’ उनले विगत सम्झिए, ‘इटहरीमा दूध बेचेपछि धरानको घोपासम्म दूध पु¥आउँथे । कहिले त चारकोसेको जङ्गलमा साइकल बिग्रिन्थ्यो । कहिले चेन चुट्टिन्थ्यो त, कहिले पम्चर हुन्थ्यो । त्यस्तो बेला साइकल डोहो¥याएर मध्ये दिउँसो मात्रै घोपा पुग्थेँ । अहिले सम्झनाजस्तो लाग्छ ।’ त्यस बेला दूधको मूल्य एक लिटरको ८ रुपैयाँ रहेको बताउँदै उनले भने, ‘हामी त्यस बेला सुकम्बासी थियौँ । किसानको दूध सङ्कलन गर्ने थियौँ । महिनाको पाँच हजार मात्रै कमाउने लक्ष्यले दूध बेच्न सुरु गरेको हुँ ।’ उनले दूध बिक्रीमा लागेपछि पढाइलाई निरन्तरता दिन सकेनन् । २०५१ सालमा विवाह गरेपछि व्यवसायलाई नै निरन्तरता दिए । र, ०५३ सालमा इटहरीमा डेरी व्यवसाय सञ्चालन गरे । डेरी सञ्चालनकै क्रममा उनी तरहरामा रहेको कामधेनु दुग्ध डेरीको सदस्य बने । ‘लगत्तै मैले कामधेनुको डेरी इन्चार्ज भएर काम सुरु गरेँ,’ उनले भने, ‘त्यस बेला ६ हजार पाँच सय रुपैयाँमा मैले काम सुरु गरेको हुँ । सबैभन्दा बढी तलब मेरो थियो ।’ उनले कामधेनुमा जागिर सुरु गरे पनि धेरै बेर टिक्न सकेनन् । जागिरलाई निरन्तरता दिन नसकेपछि उनले विराटनगरको हाट खोलामा कस्तुरी डेरी नामक डेरी उद्योग सञ्चालन गरेँ । डेरी राम्ररी नै चलिरहेको थियो । व्यापार राम्रै फस्टाइरहेको भए पनि २०६२-६३ को जनयुद्धपछि मधेस आन्दोलनताका उद्योग बन्द भएको ढकाल सुनाउँछन् । ‘मधेस आन्दोलनले प्रभाव पार्‍यो । त्यसपछि पारिवारिक कारणले पनि डेरीलाई निरन्तरता दिन सकिएन,’ उनले थपे । विभिन्न कारणले प्रभाव पारे पनि उनी थकित भने भएनन् । उनले २०६६ सालमा धरान डेरीमा पनि डेरी इन्चार्ज नै भएर काम गरे । त्यहाँ पनि केही वर्ष कामको अनुभव गरेपछि उनले घरमै गाई पालन सुरु गरेको बताए । २०६९ सालमा पाँच वटा गाई पालन सुरु गरेको ढकाल बताउँछन् । हालको ग्रामथान गाउँपालिका ७ मा उनले पाँच वटाबाट गाई पालन सुरु गरे पनि हाल भने ९५ वटा गाई रहेको उनको भनाइ छ । ‘सुरुमा गाई पालन गर्दा दूध बेच्ने ठाउँ भएन । परिवारसँगको सहकार्यमा सुरु गरेको गाई पालनका कारण दूध उत्पादन बढेपछि दूध यहाँका २५ जना किसानबाट बनिगमा दुग्ध उत्पादक सहकारी संस्था नामक संस्था स्थापना गरी दूध बिक्री सुरु गरियो,’ उनले भने, ‘सुरुआती दिनमा ४३ लिटर दूधबाट सुरु गरिएको सहकारीमा हाल दैनिक १८ हजार लिटर दूध उत्पादन हुन्छ । डेरीमा सङ्कलित भएको दूध कामधेनु डेरी र विराटनगरका साना डेरीहरूमा बिक्री हुन्छ ।’ अहिले ८ बिघा जमिनमा ९५ वटा गाई पालनसँगै घाँस खेती गर्दै आएको उनी बताउँछन् । ‘सफलताको पछाडि परिवार जोडिएका छन् । फर्ममा कर्मचारी ७ जना छन् । घरका दुई जना ढुक्कैसँग खटिन्छौँ,’ उनले थपे, ‘पहिला आफूले पाँच हजार कमाइ गर्न खटिनुपर्थ्यो । अहिले पन्ध्र हजारदेखि ५५ हजारसम्म तलब खाने कर्मचारी म सँगै छन् ।’ २०६८ देखि यता आफैँले उनले जमिन जोड्दै गए । र, त्यहीँ गाई पालन सुरु गर्दै गए । निरन्तरको सङ्घर्ष र आत्मविश्वासका कारण उनले हाल मासिक दुई लाख बढी आम्दानी गर्दै आएका छन् । दुई लाख ८० हजार तलबमा खर्च हुने र दैनिक गाईमा दानापानीका लागि १७ हजार लगानी हुने उनको भनाइ छ । त्यसो त ढकालको प्रेरणाको स्रोत हुन्, टीका ओझा । उनै ओझाले कामधेनुमा ढकाललाई जोडेका हुन् । सेयर सदस्य बन्नदेखि जागिरका लागि पनि ओझाको योगदानलाई भुल्नै नसकिने उनी बताउँछन् । व्यावसायिक पशुपालनका लागि कामधेनुबाट २० लाख रुपैयाँ ऋण लिएर गाईमा लगानी गरेको बताउँदै उनले भने, ‘त्यही पैसा घुमाउँदै, ऋण लगानी गर्दै, गाई थप्दै गयौँ । आत्मविश्वास नै मेरो सफलता हो । दिगो सोच, सङ्घर्ष र निरन्तरता त छदैँछ । असफलतामा नआत्तिईकन निरन्तरता दिँदा सफल भइन्छ भन्ने मेरो विश्वास छ ।’ उनी हाल कामधेनु दुग्ध डेरी उद्योगको अध्यक्ष छन् । टीकाप्रसाद ओझाबाट सञ्चालित डेरीमा हाल प्रत्यक्ष ७०९ जनाले रोजगारी पाएका छन् भने ७५० जनाले दूध उत्पादनमा जोडिएर अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेको ढकालले बताए । कामधेनुबाट उत्पादित दुग्धजन्य पदार्थ हाल ५० हजार जना मानिसले सेवन गरिरहेको उनको भनाइ छ । ‘यहाँका कर्मचारी मालिक बन्नुपर्छ, किसान खुसी र सुखी हुनुपर्छ भन्ने डेरीको सोच रहेको छ,’ उनले थपे, ‘हाल ११ हजार किसानले उत्पादन गरेको दूध हामीले किनिरहेका छौँ ।’ पशु बिमा, पशु स्वास्थ्य, सहुलियत ब्याजदरमा ऋण लगानीजस्ता कुरामा किसानलाई ‘सपोर्ट’ गर्दै आएको उनले सुनाए । यस वर्ष दूध उत्पादनमा भएको असहज परिस्थितिमा ‘मिल्क होलिडे’ नगरी दूधको कारोबारलाई अगाडि बढाएको ढकाल बताउँछन् । ५० हजार लिटर प्रोसेसिङ गर्ने क्षमता र प्रत्येक दिन सोही मात्रामा पाउडर उत्पादन गर्ने उद्योग सञ्चालन हुँदा दैनिक एक लाख लिटर दूध व्यवस्थापन गर्ने हैसियत कामधेनुसँग रहेको उनको दाबी छ । इटहरी, धरान, विराटनगर, इनरुवालाई हेर्ने हो भने दैनिक एक लाख लिटर बढी दूधको खपत रहेको उनले बताए । उनका अनुसार सरकारको फितलो कानुनको कारण दुग्धजन्य पदार्थ छिमेकी राष्ट्रबाट भित्रिएका कारण नेपालमा दुग्धजन्य पदार्थ नबिकिरहेको अवस्था छ । यसमा सरकारी दुग्धजन्य पदार्थमा लगाएको भ्याटका कारण उत्पादित वस्तु महँगो भएकाले भ्याट छुट गर्न आह्वान गर्न आवश्यक रहेको ढकाल बताउँछन् । किसानले उत्पादन गरेको बिजुली महसुल बढी भएका कारण उत्पादन लागत बढेको र यहाँ उत्पादन भएका दुग्धजन्य पदार्थहरू बिक्री गर्न असहज भइरहेको उनले सुनाए । यद्यपि, यस क्षेत्रमा जस्तोसुकै बाधा आइपरेपनि निरन्तरता र आत्मविश्वास भएमा एक दिन सफल भइने उनको विश्वास छ । ढकाललाई काठमाडौमा रहेको सिजन मिडिया प्रालिले ११ औँ राष्ट्रिय समाजसेवा सम्मान नेसनल सोसल वेयलफेयर अवार्ड प्रदान गरेको छ । ढकाललाई कोसी प्रदेशका उत्कृष्ट पशुपालक कृषक अन्र्तगत नेशनल सोसल वेलफेयर अवार्ड २०२३ ( National social welfare Award-2023) बाट प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना र राज्य ब्यावस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडाबाट सम्मानितसमेत भएका हुन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार