शिक्षक र प्रधानाध्यापक बिचको विवादले महोत्तरीको एक विद्यालयको पठनपाठनमा असर

बुधबार, ०५ बैशाख २०८१
विशाल बस्नेत महोत्तरी - बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबिचको विवादले पठनपाठनमा असर परेको छ । वडा नं. ६ स्थित योग कुमार माध्यमिक विद्यालयका प्रधानाध्यापक निरिपेन्द्र कर्ण र केही शिक्षकबिचको आन्तरिक कलहले पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरूले गुनासो गरेका छन् । सोही विद्यालयमा अध्यापन गराउने शिक्षक शोभालाल यादवका अनुसार प्रधानाध्यापक कर्ण शृंखलावद्ध अनियमिततामा सहभागी भएपछि शिक्षकहरूबिच दुरी बढेको हो । उक्त विद्यालयमा अहिलेसम्म व्यवस्थापन समिति बन्न सकेको छैन । व्यवस्थापन समिति नभएको मौका छोपेर प्रधानाध्यापकले आफूखुसी विद्यालयको सम्पत्ति नै हिनामिना गरेको शिक्षकहरूको आरोप छ । विद्यार्थीहरूसँग टाई र परिचयपत्रका नाममा आफूखुसी पैसा उठाएर अपचलन गरेको आरोप आइरहेको वेला विद्यालयको गोदाममा राखेको काठहरू समेत लिलाम गरेर प्रधानाध्यापक कर्णले भ्रष्टाचार गरेको शिक्षकहरूले आरोप लगाएका छन् । काठहरू बेचेको न्यून पैसा मात्र खातामा देखाएको र लाखौँ रुपैयाँ अनियमितता गरेको अर्का शिक्षक जीवन श्रेष्ठले बताए । काठको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा शिक्षक शोभालाल आफैले उजुरी हालेका थिए । याँहीवाट सुरु भएको विवाद अहिले विद्यार्थीहरूको पठनपाठनमा समेत देखिएको छ । तर प्रधानाध्यापक कर्णले भने शिक्षकहरूले आरोप लगाएर जस्तो नभएको जिकिर गरेका छन् । शोभालाल यादव नियमित कक्षामा नआउने र विद्यालयको समयावधि पहिले नै निस्कने कारणले कारबाही गरेको हुँदा बदला लिने उद्देश्यले अफवाह फैलाइरहेको उनको भनाई छ । तर शिक्षक यादवले एसइईको समयमा विद्यालयबाट विना कारण १८४ जना विद्यार्थीहरूसँग जनही ३ सयका दरले अवैधानिकरुपमा पैसा उठाएको समेत आरोप लगाएका छन् । विल विना पैसा उठाएर उक्त पैसा लेखा शाखामा नबुझाएको कर्णमाथि आरोप लागेको छ । यो आरोप यसलाई स्थानीय अभिभावकले समेत ऐक्यबद्धता जनाएका छन् । अभिभावक कुशेश्वर महतोले शिक्षक शोभालालले भनेको विषयहरूमा सत्यता नै भएको दाबी गरेका छन् । हामीले कक्षा-१० को बिद्यार्थीहरुलाई ३ सय मागेपछि घरबाट पठाएका थियौ । त्यो कता खर्च भयो वा केको लागि लिएको थियो अझै खुल्न सकेको छैन । अभिभावक महतोले भने । यसको विषयमा छानबिन हुनुपर्छ अहिलेसम्म लेखा शाखामा यो पैसा जम्मा भएको पाइएको छैन । काठ लिलाम गरेको झन्डै ५५ हजार मात्र खातामा देखाएको र १८४ जना विद्यार्थीहरूसँग ३ सयका दरले उठाएको पैसा लेखा शाखामा दाखिला नभएको लेखापाल सञ्जीव यादवले बताए । मैले पनि प्रधानाध्यापक कर्णले पैसा उठाएको भन्ने थाहा पाएको हौ तर उक्त पैसाको विषयमा लेखा शाखा अनविज्ञ छ । लेखापाल यादवले भने । खै अव सम्बन्धित निकायले यसको छानबिन गर्ला नि सरहरू सम्बन्धित निकायसम्म पुग्नु भएको छ क्यार । यता नगर शिक्षा शाखाका शाखा अधिकृत राम विनय यादवले भने विद्यालयमा प्रधानाध्यापक कर्ण भन्दा पनि शिक्षक दोषी भएको बताए । उनले विद्यालयको विषयमा पटक-पटक छलफल भएको तर शिक्षकहरूले मनोमानी गर्न नपाउँदा प्रधानाध्यापक रिस पोखिरहेको बताउँदै शिक्षक शोभालाललाई सजाय स्वरूप एक महिनाको १० हजार तलब समेत काटेको बताएका छन् । शिक्षक शोभालाल विद्यालयमा महिनामा धेरै दिन उपस्थित नै नभएपछि शिक्षा शाखा र प्रधानाध्यापक भएको छलफलमा नै चेतावनी स्वरूप कारबाही गरेको प्रमुख यादवको भनाई छ । तर शिक्षक यादवले भने यसलाई अस्वीकार गरेका छन् । सञ्चित बिदाको अभिलेख नै गायब बनाएर झुटो आरोप लगाएको उनको भनाई छ । यादवले अभिलेख देखाएर यसको पुष्टि गर्न चुनौती समेत दिएका छन् ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार