गुल्मी । शुक्रवारदेखि गुल्मीका विभिन्न स्थानमा आगलागी हुँदा दर्जनौँ घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौँको क्षति भएको छ । शनिवार दिउँसो आगलागी हुँदा दर्जनौँ घर गोठ जलेर नष्ट भएका छन् ।
शुक्रवार दिउँसो गुल्मी दरबार गाउँपालिका ३ र ४ को बिचमा पर्ने जङ्गलमा आगलागी हुँदा वीर बास सवस्टेशन रहेको स्टोर जलेर दुई करोड बढी मूल्य बराबरको इलेकट्रोनिक्स सामग्री नष्ट भएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए । त्यस्तै शनिवार हावाहुरीसँगै जिल्लाका विभिन्न पालिकामा आगलागी हुँदा दर्जनौँ घर गोठ जल्नुका साथै केही मानिसहरू घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शङ्कर पोखरेलले दिएको जानकारी अनुसार इस्मा गाउँपालिका–२ को सिधुङखा सामुदायिक वनमा लागेको आगो त्यस गाउँसहित हाँडिखोला समेतको गरी यो समाचार तयार पार्ने बेलासम्म १५ वटा घर गोठ गरी त्यति नै सङ्ख्यामा शौचालय जलेर नष्ट भएका छन् ।
ठुलो सङ्ख्यामा पशु चौपायहरु जलेर नष्ट भएका छन् । त्यस्तै नम्बर नखुलेको एउटा ट्याक्टर जलेर नष्ट भएको छ । त्यसका चालक उजुङ्घ निवासी हिमाल राना घाइते भएका छन् । त्यस्तै जेसिभी चालक मुसिकोट नगरपालिका ७ पल्टारका प्रेम राना पनि गम्भीर घाइते भएका छन् ।
उता इस्मा गाउँपालिका ४ को हुला मुड्की नामा ४ वटा गोठ जलेर नष्ट भएका छन् । एउटा लैनो भैँसी, एउटा गाई र १० वटा बाख्रा परेका छन् । त्यस्तै मुड्की नामा शनिवार अपराह्न सम्म ७ वटा घर जलेर नष्ट भएको र थप करिब १० वटा घर जोखिममा रहेको त्यहाँका वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।
यता धुर्कोट गाउँपालिका ६ को धुर जङ्गलमा भीषण आगोलागि भएको स्थानीयवासी तथा पत्रकार भरत पाण्डेले जानकारी दिँदै भने हामी त गाउँ जोगाउन चारैतिर खटिएका छौँ । त्यस्तै मुसिकोट नगरपालिकाको ९ को अर्लाङकोटको जङ्गलमा पनि भीषण आगलागी भएको छ । त्यहाँकी वडाध्यक्ष भोमा गुरुङका अनुसार अपराह्न सम्म ३ वटा घर एउटा गोठ जलेर नष्ट भएका छन् ।
३ वटा भैँसी मरेका छन् । त्यहाँको आगो नियन्त्रण भन्दा बाहिर रहेको वडाध्यक्ष गुरुङको भनाई छ । उता रुरु क्षेत्र गाउँपालिका १ को भडकुवा गाउँको चारैतिर आगो लागी हुँदा ५ वटा घर गोठ पूर्ण रूपमा जलेर नष्ट भएको, ७ वटा पशु चौपाया मरेको र झन्डै दुई दर्जन घर गोठ उच्च जोखिम परेको स्थानीयवासी विकास ज्ञवालीले जानकारी दिए ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार रेसुङ्गा नगरपालिका, गुल्मी दरबार गाउँपालिका छत्रकोट, मदाने गाउँपालिकामा पनि आगोलागि भएको छ ।
प्रजिअ शर्माले भने अहिले हामी इस्माका विभिन्न स्थानमा लागेको आगो नियन्त्रणका लागि फिल्ड मै छौँ, यहाँ सहित आगोलागि भएका सबै स्थानमा तिनै वटै सुरक्षा निकाय खटिएको छ । सुरक्षा निकाय मात्रै पर्याप्त नहुने हुँदा आम नागरिकलाई जुट्न म आव्हान गर्दछु ।’
प्रतिक्रिया