शीर्ष नेता इलाममा केन्द्रित

आइतबार, ०९ बैशाख २०८१
इलाम / इलाममा उप निर्वाचनको रौनक छाएको छ । यति बेला शीर्ष नेताहरू जिल्लामा छन् । उनीहरू आफ्ना उम्मेदवार जिताउन यति बेला इलाम केन्द्रित भएका हुन् । यहाँ दैनिक जसो नै केन्द्रका नेताहरू आउने मत माग्ने मात्र हैन विकासका धेरै आश्वासन समेत दिने गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन क्षेत्र २ को मङ्गलबारेमा आयोजित चुनावी सभामा सहभागी हुन इलाम आए। एमालेले ३३ वर्षे सुहाङ नेम्बाङलाई उम्मेदवार बनाए पछि ओली उनलाई जिताउन आग्रह गर्दै इलाम आएका हुन् । सुहाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीले पनि साथ दिएका छन् । यो चुनावी सभामा एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री रामबहादुर थापा बादल, परिवार दल अध्यक्ष एकनाथ ढकाललगायत सहभागी भए । सभामा ओलीले सुहाङलाई जिताउन मतदातालाई आग्रह गरे । उनले त सुहाङले जिते इलामको विकासको जिम्मा आफूले लिने समेत बताए । अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल अहिले इलाम क्षेत्र २ मा चुनावी घरदैलो गर्दै आइपुगेका छन् । उनले आफ्ना उम्मेदवार जितबहादुर राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । खनालले माङ्सेबुङस्थित लारुम्बा पुगेर किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग समेत समेत भेटघाट गरे । उनले नाम जित बहादुर भएकाले आफ्ना उम्मेद्धारले जित्ने दाबी गरे । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अध्यक्ष रवि लामिछाने अहिले इलाम क्षेत्र २ चुनावी सभामा व्यस्त छन् । उनी हाल इलाम क्षेत्र नम्बर दुईका विभिन्न ठाउँमा पुगी रहेका छन् । उनले पनि परिवर्तनका लागि उपनिर्वाचनमा रास्वपालाई मतदान गर्न आग्रह गरिरहेका छन् । रास्वपा नेतृ तथा शिक्षामन्त्री सुमना श्रेष्ठले समेत इलाम क्षेत्र नम्बर दुईका जनतासँग भेटघाट गरेर आफ्ना उम्मेदवारलाई भेट मागिन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेता इलाममा नै छन् । नेताहरू शेखर कोइराला, धनराज गुरुङ, शशाङ्क कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङ्देम्बेलगायत नेता उम्मेदवारी मनोनयनपछि पटक–पटक इलाम आएर काँग्रेसलाई भोट मागिरहेका छन् ।   राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष राजेन्द्र लिङ्लेन सातअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । उनीसहित नेता रवीन्द्र मिश्रसमेत आएका थिए । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसहितका दुई सांसदसमेत चुनावी अभियानमा इलाम आए । उनीहरूले यस पटक राप्रपा उम्मेदवार यहाँबाट विजयी बन्ने दाबी गरे । इलाम क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसका उम्मेद्धारले हालसम्म जित्न नसकेका कारण विकासले गति नलिएकाले पनि यस पटक म्मेदवार डम्बर खड्कालाई मत दिनु पर्ने उनीहरूको भनाई छ । राप्रपा नेता ज्ञानेन्द्र शाहीले उम्मेदवार लक्ष्मी गुरुङले जित्ने दाबी गरे । उनले पनि जिल्लामा मत मागिरहेका छन् । जनमत पार्टी अध्यक्ष सिके राउतसमेत यसअघि इलाम क्षेत्र २ आएका थिए उनले पनि आफ्ना उम्मेदवार प्रेमकुमार थाम्सुहाङलाई जिताउन मतदातालाई आग्रह गरे । पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमलाई जिताउन पहिचानवादीहरू समेत एक ढिक्का भएर लागेका छन् । धरानका मेयर हर्क साङपाङ , अधिबक्ता स्वागत नेपाल लगायत समेत इलाम आएर उनलाई जिताउन आग्रह गरे । वैशाख १५ गते इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेसमबहादुर सुनार नेपाली उम्मेदवार बनेका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार