सहकारी ठगीमा सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूका आफन्तहरू समेत इटहरी उपमहानगरपालिका आएर घटनालाई मिलाइदिनका दबाब सृजना गरेका थिए । तर पीडितहरूले सहकारीमा फसेको रकमको कम्तीमा ४० प्रतिशत रकम जम्मा गरे मात्र सञ्चालकहरू सँग मिलापत्र गर्ने भनेर अडान राखेको पीडित जयबहादुर बस्नेतले बताए । ‘त्यत्रो पैसा फसेको छ १० लाख रुपैयाँ दिन्छु हाम्रो मान्छे छुटाइदिनु भन्दै आउनुहुन्छ कसरी छुटाउनु ,’ बस्नेत भन्छन् ।
खनार बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नेमध्ये अधिकांश इटहरीका स्थानीय मजदुरदेखि व्यापारीहरू रहेका छन् । पीडितहरू पैसा पाउने आसमा दैनिक इटहरी उपमहानगरपालिका धाइरहेको छन् ।
उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले सहकारीमा जम्मा गरेको पैसा सञ्चालकहरूले जथाभाबी रूपमा लगानी गरेको कारण जोखिममा परेको बताए ।
सहकारी सञ्चालकहरूसँग पटक पटक छलफलमा बसेको भए पनि बचतकर्ताहरू पैसा फिर्ता दिनका लागि सञ्चालकहरू जिम्मेवार नबनेका कारण प्रहरी सामु उजुरी लिएर पुगेको पोखरेलले बताए ।
अध्यक्ष तामाङ, उपाध्यक्ष सरोज सिवाकोटी, सञ्चालक सदस्य गोविन्दकुमार श्रेष्ठ र व्यवस्थापक सप्तरी निवासी धर्मेन्द्र दासलाई प्रहरीले एक हप्ता अघि पक्राउ गरेको छ भने गणेश पाण्डेसहित चार जना सञ्चालकहरू अहिले पनि फरारै रहेका छन् ।
पछिल्लो समय इटहरीमा रहेको अम्बे बचत तथा ऋण सहकारी संस्था, हलेसी उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कामख्य सहकारी जस्ता आधा दर्जन बढी सहकारी संस्थाहरू डुब्दा हजारौँ सर्वसाधारणको एक अर्ब बढी रकम जोखिममा परिसकेको छ ।
प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इनरुवाले पनि कोशी प्रदेशका पन्ध्र प्रतिशत सहकारीहरू उच्च जोखिममा रहेको बताएको छ । कार्यालयका प्रमुख हरिबहादुर खत्रीले वित्तीय विवरण कमजोर भएका सहकारीहरू कोशी प्रदेशमा बढ्दै गएको स्वीकार गरेका छन् ।
प्रतिक्रिया