म लगायत अन्य दुई जना साथी मासु नखाने भएकाले आलु र सिन्की अनि मकैको च्याँख्ला मिसाएको खानाले पेट पूजा गरेर आराम गर्न लागियो । सँगै रहनुभएका गाप अध्यक्ष, उपाध्यक्ष र केशव सर अरू दुई जना महिला कर्मचारी र जन्तरे बासहितको टोली भने चिसो र स्वास्थ्यको कारण गोरुवाले तिर झर्नुभयो । गोरुवाले छिन्तापुबाट तीन किलो मिटर टाढा पर्छ । छिन्तापु रेडपाण्डाको बास्थान क्षेत्र पनि हो । बेलुकीको खाना खाएर हामी सुत्न टेन्ट तिर गयौँ। हाम्रो टेन्टमा टेकेन्द्र विष्ट, सुमन सुबेदी, उज्ज्वल बाँस्कोटा (भान्जा)र म सुत्यौँ । सुमनको खराटे मारेर घुराई ले केही समस्या गराए पनि दिनभरको पैदल यात्राले थाकेको शरीर भएकाले झुपुक्कै निदाइएछ।बिहानीको झिसमिसेमा नै चरणमा रहेको गोरुहरू डुलेको आभास गोरुको घाटीमा बाँधिएको घण्टीको आवाजले गराइदियो । र हाम्रो निद्रा खुलाइदियो । बिहानै उठेर हिमाल हेर्न टेन्टबाट बाहिर निस्किए पनि पुरा हुन सकेन । छिन्तापुमा मौसम खुलेको रहेनछ । बादलले पारी क्षितिज ढाकिएकाले कंञ्चनजगा, कुम्भकर्ण, सगरमाथा, मकालुलगायतको हिमशृङखला र सूर्योदयको दृश्य एकै स्थानबाट हेर्ने धोको भने पुरा हुन सकेन। बादलले नढाकिएको भए हाम्रा क्यामेरामा सबै कैद गर्ने थियौँ । उक्त क्षेत्रमा विशेष गरी आन्तरिक तथा भारतको पश्चिम बङ्गालको सिलिगुढी, कलकत्तालगायतका स्थानबाट पर्यटकहरू घुम्न आउने गरेका रहेछन्। छिन्तापु प्राकृतिक सुन्दरताको साथै धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ महागुरु फाल्गुननन्दले पनि आएर ध्यान तपस्या र पूजा गरेको बताइन्छ । अब हाम्रो दोस्रो दिनको यात्रा पनि सुरु भयो । आ–आफ्नो ब्याग बोक्यौँ र हिजो व्यवस्थापनको लागि लगिएको सामान बोक्न लगाएर गोरुवालेतर्फ ओरालो झर्दै गर्दा ताल पोखरी आइपुग्यौ । ३०५० मिटरको उचाइमा रहेको ताल पोखरीको आफ्नै किसिमको विशेषता रहेछ। चिमाल, गुराँस, कुर्लिङ्गो, गोब्रे सल्ला जस्ता बोटबिरुवा रहेको क्षेत्र भएको पोखरीमा क्षणभरमै सिमलको भुवा जस्तो कुहिरो उडेर आएर पोखरीलाई ढपक्कै छोप्ने र हावाको झोकासंगै कुहिरो उडाएर लैजाँदा हिमालको सुन्दर छाया ऐना झैँ टलक्क टल्किने गरेको गाप कर्मचारी विनोद राईले जानकारी गराउनुभयो । रेडपाण्डा र विभिन्न कुरा गर्दागर्दै गोरुवाले भञ्जाङ आइपुग्यौ। गोरुवाले भञ्जाङमा पाँच वटा घर रहेछन् । ती घरहरूमध्ये केही पाँचथरतिर र केही इलामतिर पर्दारहेछन । गोरुवालेमा केही वर्ष अघिसम्म चौँरी गोठ मात्र थियो रे । गोठ राख्दाराख्दै मानिसहरूले घर बनाएर बस्न थालेका रहेछन् । यो इलाम र पाँचथरको सीमा क्षेत्र भएकाले यहाँ इलाम र पाँचथर दुवैतर्फबाट कच्ची सडकले जोडिएको छ। यहाँ पाँचथर पट्टीबाट बिजुली समेत पुगेको रहेछ। बिहानीको खाना गोरुवालेमा नै भएकाले खाना पाकुन्जेल त्यही बसिरहौँ र विद्युत् भएकाले मोबाइल तथा क्यामेरा चार्ज गर्न सहज भयो । खाना खाएर हामी यात्रा अगाडी बढाउन लाग्दा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली, केचना कञ्चजंगा पर्यटन विकास समितिका प्रबन्ध निर्देशक केशव धौराली, सुमन सुबेदीको स्वास्थ्यमा समस्या आएपछि उहाँहरू गेरुवालेबाट छुटिनुभयो र हामी भने सन्दकपुरको यात्राका लागि अगाडी बढ्यौँ । गेरुवालेबाट केही पर पुगेपछि एक भवन रुग्ण अवस्था भेट्टायौँ । त्यो राणा कालिन प्रहरी चौकी रे । २०१८ सालमा चौकी सरेर देउरालीमा राखिएको रे तर पनि अहिलेसम्म यो चौकीको नाम राणा कालिन नाम बन्दुके चौकी नै रहेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जानकारी गराउनुभयो । बाटोभरि गुराँसै गुराँसको जङ्गल हेर्दै हामी र फोटो खिच्दै लाम पोखरी धुपी हुँदै उकालो बढ्यौँ । धुपीको नागी काटेर केही माथि पुग्दा हामीलाई प्यास र भोक लागिसकेको थियो । त्यसै बेला नजिकै गोठ देख्यौ र आशासहित केही खान पाइन्छ भनेर गयौ । गोठमा गएर सोध्दा चिया पाइयो । प्रतिकप १५ का दरले चौरको दूधमा चिया पाउने हुँदा साथीहरूले प्रतिव्यक्ति तीन कपसम्म पिउन भ्याउनुभयो । सायद चियाले नै भोक मेटाउन होला तर गोठको दाइ भाउजूले जति चिया खाए पनि खिइरहनु भयाृ । चिया खाएपछि हामी उकालो निरन्तर लम्किरहौँ । चिसो बतासको स्पर्शसङै भुईँ कुहिरोले घरीघरी छोपिदिन्थ्यो र क्षणभरमै उज्यालो हुन्थ्यो । साँझपख हामी आहाल पुग्यौ । हाम्रो बास पनि आहालमा नै हुने भयो । चिसो सिरेटो खप्न नसकेर बास बस्ने होमस्टे तिर नै गयौ । धेरै बङ्गाली पर्यटकले खचाखच भएकोले हामी पनि खाना खाएर दिनभरको थकान मेट्न ओच्छ्यानतिर छिर्यौं । बिहानीको चिसो बताससङै खुलेका आँखाले निन्द्रा पुर्याइसकेको थियो । बिहानको चिसोमा उठेर हामी सबैले चिया पियौँ । म र केही साथीहरूले चौरको दूध पनि भ्यायौँ । हामी आहालमा रहँदा नै सन्दकपुर गाउँपालिका अध्यक्षले आहाल घुम्न आएका बङ्गाली पर्यटकहरूलाई खादा ओडाएर स्वागत गर्नुभयो। हामी बिस्तारै सन्दकपुर तिर पाइला मोड्यौ । इलाम जिल्लाकै सबैभन्दा अग्लो स्थान सन्दकपुर ९३६३६ मिटर पुग्दा त्यहाँ भारतीय पर्यटकको बाक्लै उपस्थिति रहेछ। नेपाल र भारतको सीमामा पर्ने सन्दकपुर पर्यटकको आगमनले व्यस्त रहेछ । सन्दकपुरको प्राकृतिक सुन्दरताले जोकोहीलाई मोहित बनाउँछ ।
बिहानको समय हामी त्यहाँ पुग्दा नेपाल भूभागमा रहेको होटेल सनराइजमा पर्यटकहरू ब्रेक फास्ट गर्दै थिए । कोही होटेल चेक आउट भएर आफ्नो गन्तव्य तिर जान तयारी गर्दै थिए । म भने इलामको अग्लो स्थानमा पाइला राख्न आतुर थिए। मैले साथीहरूलाई हौसाए र डाँडातिर गयौँ । र ३६३६ मिटरको उचाइमा पुगेर नेपालको झन्डा बोकेर गीत गायौँ–‘रातो र चन्द्र सूर्य जङ्गी निशाना हाम्रो.......यो भूभाग बारम्बार भारतले हाम्रो भनेर विवाद निकाल्ने गरेकाले हाम्रो जमिनमा राष्ट्रिय ध्वजा बोकेर स्वदेश गान गाउँदा आफैमा गर्व लागेर आयो । हामी होटेल आइपुग्दा हाम्रो सबै भेला भइसकेका रहेछन् । हामी नास्ता गर्नतिर लाग्यौँ । सन्दुकपुरमा नेपालतर्फ दुई वटा मात्र होटेल रहेछन् । होटेल शेर्पा च्यालेस र होटेल सनराइज । अरू भने नेपालतर्फ होमस्टेहरू छन्। गाउँपालिका अध्यक्षले सन्दकपुर घुम्न आएका बङ्गाली पर्यटकहरूलाई पनि खादा ओडाएर स्वागत गर्नुभयो । हामी बिस्तारै ओरालो हिँड्न थाल्यौ । माई खोलाको शिरमा पुग्दा माइ भगवती सँग आफ्नो शिर निहुरियाएर मनको कामना माग्यौ। इलामको चार माई मध्ये माई खोलाको शिर पनि सन्दकपुर नै हो । हामी निरन्तर ओरालो झरिरहरौ। कोशी प्रदेशको लगानीमा बनेको पैदल मार्गको निकै सहज र रमणीय स्थानमा रहेछ । हाम्रो यात्रा कालपोखरी(दोबाटे) – कैयाकट्टा सम्मको थियो । लेकाली झारपात बोटबिरुवा र घरको फूलबारीजस्तो रातै फूलेका लालीगुराँसको जङ्गलले लोभ्याइरहँदा विभिन्न किसिमको चराहरूको आवाजले हाम्रो यात्रामा सङ्गीत भरेको आभास गराइरहेको थियो । यात्राको तेस्रो दिन भएकाले हामी सबै परिचित भैसकेका थियौ हामीसँग १२ वर्षको उमेरदेखि ७६ वर्ष सम्मको सहभागिता रहेको थियो । यात्राले आजबाट अझ उत्साह थप्दै थियो । किनकि हाम्रो उद्देश्य अनुसार रेडपाण्डा अर्थात् हाब्रे पाउने सम्भावना धेरै भएको क्षेत्रमा पैदल यात्रा गर्ने लागेका थियौ। रेड पण्डालाई स्थानीय भाषामा पूणेकुदो भनेर चिनिने गरिन्छ । निकै लजालु स्वभावको हुने हाब्रे कमै मानिसले मात्र देख्न पाउने गरेका छन् । पूणेकुदो नदेखे पनि हामीले वासस्थान , खानपान र उसको जीवनयापनको बारेमा बुझ्नु थियो। पूणेकुदोको जीवन चक्रलाई केही नजिकबाट बुझेका नोर्ला होमस्टे हाँगे थामका मित्र दावा शेर्पाले हामीलाई रेडपाण्डाको बारेमा धेरै जानकारी गराउनु भयो र रेडपाण्डा देखाउने आस जगाउनुभयो । मनमा पाण्डा प्रत्यक्ष देख्न पाइन्छ कि भन्ने झिनु आस भने रहिरहेको थियो । दावाजी रेडपाण्डाको गाइड भएकाले हामी केही उत्साहित थियौ । कुरा गर्दै हिँड्दा कतिखेर कालपोखरी पुगिएछ पतै भएन ।कालपोखरी पुग्दा नपुग्दै आकाशमा कालो बादल मडारिन थालिसकेको थियो। काल पोखरीमा हामी कहिबेर बिसायौँ । चिया खायौ । सन्दुकपुरदेखि नै हामी भारतको सिमाना नै सिमाना भएर यात्रामा थियौँ । काल पोखरीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टमा त्यहाँको गतिविधिको बारेमा जानकारी लिनुभयो । हाम्रो खाना खाने दोबाटेमा थियो । केही साथीहरू काल पोखरीमा नै अल्मलिरहनु भयो । हामी भने अगाडि पाइला चाल्यौँ । करिब २० मिनेट जति हिँडेपछि अघि आकाशमा मडारिएको बादलले धैर्य गर्न सकेन र पानी पर्न थाल्यो । बिच जङ्गलमा न ओत लाग्ने ठाउँ न छाता भएकाले हामी भिज्नु बाहेक केही उपाय नै भएन । पानीमा भिज्दै हिडिरहयौ । सन्दकपुर गाउँपालिकाको गाडी दोबाटेबाट हामीलाई लिन आयो र करिब १.५ किलोमिटर जति गाडी चढेर दोबाटे पुग्यौ । दोबाटे पुग्दा हामीलाई भेट्न नेपाल पत्रकार महासङ्घ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई र शिक्षक पङ्कज भट्टराई आउनु भएको रहेछ । हामी खाना खादै उहाँहरू सङ्घ कहिबेर बात मार्यौं । सबै साथीहरू पनि भेला हुनु भएको साथै पानी परिरहेकाले पुग्नुपर्ने कैयाकट्टाको यात्राको लागि उकालो लाग्यौ । हिजोसम्म गीत गाउने साथीहरू चुपचाप हिँडिरहनु भयो । किनकि दोबाटेबाट कैयाकट्टाको बिचमा पर्ने सबै बनमा रेडपाण्डा धेरै पाइने भएकाले मानिसको होहल्लाले असर पर्ने हुँदा साथीहरू चुपचाप हिँडिरहनुभयो । भुईँ कुहिरोले ढाकेको वनलाई छिचोल्दै हामी कैयाकट्टा पुग्दा माहौल अझ रमाइलो भयो। मेरा मित्र सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव राउत, लेखा अधिकृत युवराज नेपाल ९विशाल०, पशु शाखाका पशु प्राविधिक सबिन भट्टराई हामीसँग यात्रामा जोडिन आइपुग्नु भएछ । केहिबेरको चिया खाजा पछि मादल लिएर रमाइलो नाचगानमा लाग्नुभयो । अबेरसम्म नाचगानपछि हामी खाना खाएर थकान मेटाउन रुमतिर लागौँ। बिहान आफ्नो यात्राका लागि निस्कियौ । हाम्रो अन्तिम दिन थियो तर उल्लास भने कम भएको थिएन । कैयाकट्टाबाट हामी गैरीबाट पुग्यौ । कोही साथीहरू नेपाल पट्टिको पैदल मार्ग हिडनु भयो । कहिले भारततर्फको पैदल मार्गको यात्रा गर्यौँ । गैरी बासबाट बिस्तारै जौ बारीका लागि हिँड्यौ। करिब दुई घण्टाको हिँडाइपछि जौ बारी बजार पुगियो । जौ बारी पुरानो बजार हो । गाउँ गाउँमा सवारी साधन पुगेपछि यो सीमावर्ती बजार फस्टाउन सकेको छैन । जौ बारीमा हाम्रो यात्राको औपचारिक समापन कार्यक्रम रहेकाले स्वास्थ्यले साथ नदिएर छुटिनु भएका सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली पनि आइपुग्नु भएको रहेछ । औपचारिक कार्यक्रम सामापन पछि खाना खाएर सबै आफ्नो गतब्यतर्फ लाग्ने तयारीमा जुट्यौँ । धेरै साथीहरू देउराली बजार(सन्दकपुर गाउँपालिकाको मुख्य कार्यालय रहेको बजार) जाने हुनुभयो भने म , सुजन तिम्सिना, खेमराज ढकाल चाही इलाम सदरमुकाम जाने भयौँ ।
इलाम बजार बाँदरे गाडी (ल्याडरोबर) चढेर इङला माई खोलाको तिरैतिर सुलुबुङ, सुम्बेक हुँदै इलाम आइपुग्यौँ । साथीहरू इलाममा नै रहने भएकाले म चाहि भोलि पल्ट बैसाख १ गते नयाँ वर्ष मनाउन धेरै आन्तरिक पर्यटकहरू आउने भएकाले साँझ गाडी चढेर राती जोर कलशमा ओर्लिएँ । यसबिचमा हाब्रे अर्थात् रेडपाण्डा वा पुँणेकुदो हेर्ने इच्छा पुरा नभएकाले मन पोलिरह्यो । यात्रा सफल अविश्मरणी र रमाइलो भए पनि रेडपाण्डा (पुणे कुदो वा हाब्रे) लाई नजिकबाट नियाल्ने सपना भने अधुरै रहयो ।(सूचना अधिकृत– पर्यटन सूचना केन्द्र जोर कलश रोङ इलाम)
प्रतिक्रिया