१८ पुराण समापनबाट आयोजकलाई आठ लाख बचत

शनिबार, ०५ जेठ २०८१
इलाम जेठ /  इलाममा सञ्चालन भएको अठार पुराण समापन तथा धार्मिक महोत्सवबाट आयोजकलाई आठ लाख रकम बचत भएको छ । गएको चैत १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको धार्मिक महोत्सवबाट आयोजकलाई आठ लाख छ हजार छ सय ७४ रुपयाँ बचत भएको हो । धार्मिक महोत्सवमा ६६ लाख ८५ हजार आठ सय ४६ रुपयाँ रकम सहयोग सङ्कलन भएको र ५८ लाख ८५ हजार आठ सय ४६ रुपयाँ खर्च भएको थियो । दाताहरूले नगद सहयोग स्वरुप ५६ लाख ७४ हजार पाँच सय ६८ रुपयाँ सहयोग गरेको कोषाध्यक्ष गणेश सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै क्युआर ९क्वीक रेस्पोन्स अर्थात् छिटो प्रतिक्रियाको माध्यमबाट सात लाख ९५ हजार एक सय ८५ रुपयाँ सङ्कलन भएको छ । त्यस्तै दक्षिणामा मात्र २४ लाख ९९ हजार दुई सय खर्च भएको छ । निर्माण तथा तयारीमा एघार लाख नौ हजार चार सय तीन रुपयाँ खर्च भएको छ । खाद्यान्नमा छ लाख ५५ हजार चार सय, छपाइ फोटो स्टुडियो तथा सूचना प्रसार प्रचारमा पाँच लाख २३ हजार पाँच सय ४५ रुपयाँ, लत्ताकपडामा दुई लाख २३ हजार २५ रुपयाँ खर्च भएको छ । पूजा सामाग्री खरिद, जनशक्ति ज्याला, औषधि उपचार, विद्युत् महसुल लगायत गरेर ५८ लाख ८५ हजार आठ सय ४६ रुपयाँ खर्च भएको बताइएको छ । अझै पनि केही कबोल भएको रकम उठ्न बाँकी रहेको जनाइएको छ । केही स्थानीय तह तथा व्यक्तिहरूबाट समेत रकम कबोल भएको भए पनि रकम प्राप्त भई नसकेको बताइएको छ । बहु धार्मिक सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भएको धार्मिक महोत्सवले जिल्लामा रहेका शक्ति पीठ तथा धार्मिक स्थलको प्रचारप्रसार समेत भएको आयोजक समितिका सचिव रविन रायाले बताए । शनिवार एक कार्यक्रम बिच आयब्याय समेत सार्वजनिक गरिएको हो । आय ब्याय सार्वजनिकरणका अवसरमा सहयोग गर्ने करिब पचास जनालाई सम्मान समेत गरिएको छ । १८ पुराण समापन तथा धार्मिक महोत्सव सम्पन्न गर्न जिल्लावासी तथा श्रद्धालु भक्तजनहरूले सहयोग गरेको भन्दै आयोजक समितिका अध्यक्ष सन्दीपकुमार बुढाथोकीले सबैलाई धन्यवाद दिए । उनले दाताकै सहयोगबाट अठार पुराणको समापन भएको भन्दै तन, मन र बचनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए । हिन्दु, किराँत र बौद्ध धर्मगुरुहरूबाट पाठ पारायण भएको थियो । त्यस्तै भागवत मञ्जरी राधिका दासीको प्रवचन समेत भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार