नेपालको बेचैनी

शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ :आफ्नो दल सरकारमा भए पनि एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको वैकल्पिक गठबन्धन बनाउने बैठकमा बिहीबार सहभागी भए । यता सत्ता समीकरणमा, उता विपक्षी खेमाको बैठकमा सहभागी हुनुले नेपाल ठूलै छटपटीमा देखिन्छन् ।

अध्यक्ष नेपाल गुनासाको पोको लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पटक–पटक गइसके । एसले नेतृत्व गरेको सुदूरपश्चिम सरकारलाई पूर्णता दिन नसघाएको, कर्णाली र कोशीमा एमालेको नेतृत्वमा आफ्नो दललाई सहभागी नगराएको, राजनीतिक नियुक्तिमा बेवास्ता गरेको, सरकारका महत्त्वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको लगायत उनका गुनासा हुने गरेका छन् । प्रधानमन्त्री दाहालले भेटमा जहिलै सकारात्मक जवाफ दिए पनि गुनासो सम्बोधनमा ध्यान नदिएको एसका एक पदाधिकारीको भनाइ छ । प्रायः आफ्ना गुनासो सम्बोधन नभएपछि नेपालको छटपटी सुरु हुन्छ । त्यसपछि उनी सार्वजनिक रूपमा दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न थाल्छन् । यी दुई नेतालाई लक्षित गतिविधि गर्छन् ।
बुधबार उनी सत्ता समीकरणको रेखा नाघेर विपक्षी दल कांग्रेस, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । मधेश प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने सन्दर्भमा बोलाइएको बैठकमा नेपाल सहभागी भएर ओली र दाहाललाई अर्को विकल्पको पक्षमा रहेको संकेत गरे । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए पनि एस सरकारमै छ । ओली र दाहालले एसले मधेश सरकारमै रहेर यो समीकरणको विकल्प खुला राखेको अर्थका रूपमा लिएका छन् । तर बुधबार विपक्षी खेमाको बैठकमा सहभागी भएर नेपालले देखिने गरी सत्ता समीकरणलाई चुनौती दिएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दलको समीकरण भत्काउने नीतिलाई बल पुग्ने गरी नेपालले गतिविधि गरेकोमा ओली र दाहाल भने असन्तुष्ट देखिएका छन् । नेपालनिकट एक नेताले एकीकृत समाजवादी प्राविधिक रूपमा मात्र सरकारमा रहेको बताए । ‘केपी ओलीको हेपाइँ र प्रचण्ड (दाहाल) को बेवास्ताबीच अपमान भएर सरकारमा बस्नुपरेको छ,’ ती नेताले भने, ‘हाल सत्ता समीकरण छोडिहाल्ने विकल्प पनि छैन, बसिरहनु पनि पीडा छ ।’
दाहाल सरकारमा एसका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकासमन्त्री धनबहादुर बुढा गरी दुई मन्त्री छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ जना एसका सांसद छन् । स्रोतका अनुसार बहुमत सांसद वामपन्थी बाहुल्य भएको यही सत्ता समीकरणलाई बलियो बनाउने पक्षमा छन् । ‘माधवजीले समीकरणको विकल्प खोजे पनि बहमुत नेता जाने पक्षमा छैनौं,’ एसका एक सांसदले भने ।
नेपाल बुधबार देउवा निवास बालुवाटार गएको भोलिपल्ट बिहीबार बिहान एसका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे । उनले एस यही समीकरण बलियो बनाउने पक्षमा रहेकाले कुनै आशंका नगर्न आग्रह गरे । ‘पार्टीले औपचारिक रूपमा यही समीकरणलाई बलियो बनाएर जाने निर्णय गरिसकेको छ,’ उनले अध्यक्ष नेपालतर्फ संकेत गर्दै भने, ‘यो समीकरणमा रहेर विपक्षी दलको बैठकमा सहभागी हुनु अस्वस्थ कुरा हो, व्यक्तिले चाहँदैमा समीकरण फेरिँदैन ।’ दाहाल र खनालबीच समीकरणमा रहेका दलहरूबीच आशंका उत्पन्न गर्ने गतिविधि गर्न नहुनेबारे छलफल भएको थियो । दाहालले खनालसँगको भेटमा विपक्षी दलको बैठकमा सहभागी हुने, समीकरणप्रति असन्तुष्टि जनाउने र विरोध गर्ने नेपालको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए । ‘माधवजी किन विपक्षीतिर ढल्कन खोज्दैन हुनुहुन्छ ?’ दाहालको प्रश्न थियो । स्रोतका अनुसार दाहालले बिहीबार बिहान नेपाललाई फोन गरेरै त्यस्ता गतिविधि नगर्न सचेतसमेत गराएका छन् । नेपालले भने आफ्नो दलको भूमिकालाई बेवास्ता गरेको गुनासो गरेका थिए । बिहीबारै विराटनगरमा एक सार्वजनिक कार्यक्रमपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा दाहालले अर्को समीकरणको पक्षमा नेपाल नभएको दाबी गरेका थिए । ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँग पनि जोडिनेजस्तो देखिएको थियो,’ दाहालले भने, ‘आज बिहान (बिहीबार) मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर (स्पष्ट) गर्नुभएको छ ।’ दाहालनिकट एक नेताका अनुसार अघिल्लो गठबन्धनमा प्रधामन्त्री बनाउने सहमतिलाई अहिलेको गठबन्धनमा पनि कार्यान्वयन गर्ने चाहना नेपालको छ । दाहाल र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सैद्धान्तिक सहमति भए पनि समयावधि सार्वजनिक भएको छैन । ‘२०८४ को निर्वाचन अघि ६ महिनाका लागि पनि प्रधानमन्त्री बनाउने प्रतिबद्धता दिने हो भने माधव नेपालले खुसीसाथ यही समीकरणको प्रशंसा गर्नुहुन्छ,’ दाहालनिकट एक नेताले भने, ‘पार्टीको हैसियतअनुसार अब केपी ओली प्रधानमन्त्री हुन सक्नुहुन्छ, तर नेपाल प्रधानमन्त्री हुने सम्भावना देखिँदैन ।’ एसका उपाध्यक्ष वेदुराम भुसालले समीकरणभित्र असन्तुलन भएका कारण असन्तुष्टि बाहिर आएको बताए । उनले सुदूरपश्चिममा आफ्नो दलको नेतृत्वको सरकारलाई पूर्णता दिन आनकानी गरेको, कर्णाली र कोशी सरकारमा सहभागी नगराएको र अरु राजनीतिक नियुक्तिमा समेत व्यावहारिक समझदारी नभएकाले आशंका उत्पन्न भएको बताए । ‘समीकरणमा भएका दलहरूबीच सल्लाह, सहकार्य विश्वासिलो हुनुपर्छ,’ उनले भने, ‘कतिपय समझदारी व्यबहारिक रूपमा कार्यान्वयन नभएकाले केही आशंका जन्मिएको हो ।’ एसका एक नेताका अनुसार नेपाल असन्तुष्ट हुनुमा ओलीसँगको तिक्तता पनि एक कारण हो । एमाले विभाजन भएपछि सुरु भएको तिक्तता गत फागुनमा एउटै समीकरण र सरकारमा रहँदासमेत मेटिएको छैन । नयाँ समीकरण बनेपछि नेपाल निवासमै गएर ओलीले सम्मानजनक सहकार्य हुने बताए पनि त्यसपछि भने नेपाललाई व्यंग्य गर्दै आएका छन् । ओलीले एसलाई विभाजन गरी एमालेमा गाभ्न लागेको बुझाइ नेपालको छ । त्यसैले उनले बेलाबेला ‘कसैसँग नझुक्ने, कसैको अपमान नसहने’ बताउँदै आएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एसका अध्यक्ष नेपालले समीकरणमै रहेर सार्वजनिक रूपमा आलोचना गर्नु गलत भएको बताए । ‘चित्त बुझेन भने प्रधानमन्त्रीजीसँग छलफल गरेर समाधान निकाल्न सक्नुहुन्छ,’ उनले भने, ‘एउटै समीकरणमा भएपछि एमालेसँग गुनासो गर्नुको के अर्थ ?’ उनले नेपाल सत्ता समीकरणको आलोचना गर्न हतारिएको बताए । ‘माधवजी समीकरणको विकल्पमा दिशाहीन, गतिहीन बाटोमा जान हतारिनुभएको छ,’ उनले भने, ‘जबकि यो समीकरण दिगो बनाउन उहाँ (नेपाल) ले हस्ताक्षर गर्नुभएको छ ।’ बुधबार देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा मधेश प्रदेश र केन्द्रीय सरकारकै विषयमा छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका थिए । ‘विपक्षीहरू एक ठाउँमा उभिएर कसरी जाने भन्ने सवालमा छलफल भएको हो ।’ यसको अर्थ केन्द्रको सत्ता गठबन्धन पनि परिवर्तन गर्ने प्रयास हो ? भन्ने प्रश्नमा यादवले भने, ‘गठबन्धन परिवर्तन हुनै नसक्ने र असम्भव कुरा होइन । कुनै पनि सरकार नेपालमा स्थायी प्रकृतिका छैनन् । तर तुरुन्त हुने अवस्था छैन ।’ मधेशमा वर्तमान मुख्यमन्त्री यादवको विकल्प खोज्दा केन्द्रीय गठबन्धन बाहिरको सरकारलाई पनि सघाउन सकिने संकेत नेपालले देउवा निवास बैठकमा दिएका थिए । स्रोतका अनुसार एसले मुख्यमन्त्री आफ्नो पार्टीले पाउँदा समर्थन गर्न सहज हुने नेपालको तर्क थियो । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार