विराटनगर । विराटनगरको एउटा पसलमा सामान किन्न गएकी भारतीय युवती नक्कली नोटसहित पक्राउ परेकी छन् ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारत बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती पक्राउ परेकी हुन् । विराटनगर–१३ स्थित एउटा किराना पसलमा सामान किन्ने क्रममा उनले बुधबार भारतीय ५ सय रूपैयाँको नोट दिएकी थिइन् ।
उक्त नोट नक्कली रहेको आशंकामा पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ५ सय दरका ७ वटा भारतीय नोट फेला परेको एसएसपी दाहालले बताए ।
उनको साथबाट ३ हजार १ सय नेपाली रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । बैसन्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया