विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक हुन लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश सरकारले वैशाख १८ र १९ गते सम्मेलनको आयोजना गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलन लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि ऐतिहासिक एवं उपलब्धिमूलक हुने अपेक्षा गरिएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए । प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्नु आफैंमा महत्वपूर्ण भएको उनको भनाइ छ ।
सम्मेलनका लागि १० करोडमाथिका ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’को तयारी गरिएको छ । विभिन्न ८ वटा क्षेत्रका परियोजनाहरु ‘सोकेसिङ’ गरिएको कोइरालाले बताए । उनका अनुसार परियोजनाहरुको कूल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ रहेको छ ।
पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी सेवालगायतका क्षेत्रमा महत्वपूर्ण परियोजनाहरू तयार गरिएको कोइरालाको भनाइ छ । प्रदेश सरकारले परियोजनाहरूलाई सफल बनाउनका लागि ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ ।
वैशाख १६ गते कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ प्रदेश प्रमुख पर्शुराम खापुङले जारी गरेका छन् । अध्यादेशमार्फत सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६, प्रदेश सहकारी ऐन, २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, प्रदेश भवन ऐन, २०७६ , प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६, प्रदेश पर्यटन ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन, २०७७ र प्रदेश वन ऐन २०७७ का केही दफा संशोधन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
कानुन संशोधनसँगै प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरिएको उनको भनाइ छ । उनका अनुसार लगानी सम्मेलनमा आएका परियोजनाहरूलाई सम्पन्न गर्नका लागि प्रदेश सरकारले संघीय सरकारसँग पनि समन्वय गरेको छ।
संघीय सरकारले पनि कतिपय कानुनहरू संशोधन गरिसकेको भण्डारीको भनाइ छ । प्रदेश सरकारको तर्फबाट थप कानुनहरू संशोधन गर्न केन्द्रीय सरकारसँग पहल र समन्वय भइरहेको उनले बताए ।
लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपाली तथा स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू लगानी सम्मेलनमा सहभागी हुने डा. कोइरालाले बताए । उनका अनुसार लगानी सम्मेलनमा विभिन्न ६ वटा विषयगत छलफल सञ्चालन हुनेछन्।
कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर तथा सम्भावना विषयक विषयगत छलफल हुने उनको भनाइ छ । सम्मेलनको पहिलो दिन कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र ३ तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुनेछ।
सम्मेलनलाई थप सार्थक बनाउन तथा नतिजामुखी अभ्यासका लागि लगानी सम्मेलनपूर्व ‘प्री मिट’ र सम्मेलनपछि आवधिक रूपमा ‘फलोअप मिटिङ’ गरी परियोजनाकर्तालाई परेका अपठ्यारा खुलाउँदै लैजाने नीति प्रदेश सरकारले लिएको छ। डा. कोइरालाका अनुसार सम्मेलनमार्फत २ दर्जन परियोजना अघि बढाउने सम्झौता भएर काम अघि बढ्ने छ ।
प्रतिक्रिया