धरान । स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा एडभान्स ब्युटी पार्लर सम्बन्धी तालिम सम्पन्न भएको छ।
गत माघ १३ गतेदेखि फागुन १६ गतेसम्म घरेलु तथा साना उद्योग कार्यालय, इटहरीको आयोजनामा तथा सुनसरी उद्योग वाणिज्य सङ्घको सहकार्यमा तालिम प्रदान गरिएको हो।
सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार बढ्दो बजार मागलाई मध्यनजर गर्दै महिलाहरूलाई स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको हो।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन पाण्डेले वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्दै गएको अवस्थामा महिलाहरूलाई देशमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । साथै, यस तालिमले विदेशी भूमिमा पनि काम गर्न सहज हुने भएकाले निःशुल्क प्रशिक्षण दिइएको उनले बताए ।
कोशी प्रदेशकी सांसद यसोदा कायस्थका अनुसार तालिमले महिलाहरूको आत्मनिर्भरता तथा आन्तरिक क्षमता वृद्धिमा टेवा पुर्याउने छ।
प्रशिक्षक सुशीला श्रेष्ठले तालिममा सिकाइएका सीपहरू व्यवहारमा लागू गरी महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन प्रेरित गरिएको बताउनुभयो।
तालिममा सहभागी मनिका श्रेष्ठले प्रशिक्षण पाएपछि आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया दिइन्।
२० जना महिलालाई एडभान्स ब्युटी पार्लर तालिम दिइएको उक्त कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत यस कुमार थापा, कर्मचारी सरिता उराव, धरान–१ का वडाध्यक्ष यक्षमणी आचार्य लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
प्रतिक्रिया