मनाइयो ग्याल्पो (ग्याल्बो) ल्होसार

शुक्रबार, १६ फागुन २०८१
काठमाडौँ : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो (ग्याल्बो) ल्होसार विविध कार्यक्रम आयोजना गरी  मनाइएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार आज ड्रागन (मेघ)वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गरेर मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ९ग्याल्बो० ल्होसारलाई विभाजन गरिएको छ । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ । आजदेखि शेर्पा समुदायको २१५२औँ साल सुरू भएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाउन परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । यस अवसरमा बौद्ध स्तुप र शेर्पा सेवा केन्द्रमा पूजा आजा गरिएको छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं भेषभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना गरिएको थियो । आज सुरू भएको ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार