विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका १ जना युवक दुर्घटनामा परेको आशंका गरिएको छ । धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल बुधबार बिहान मृत फेला परेका छन् ।
मण्डलको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । युवक मृत फेला पर्नु र शवनजिकै मोटरसाइकल भेटिनुले उनी दुर्घटनामा परेको हुनसक्ने आशंका प्रहरीले गरेको हो ।
प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा मृत भेटिएका उनी मोटरसाइकलसहित सडकबाट खसेको प्रहरीको अनुमान छ । स्थानीयले नालामा शव देखेपछि बिहान ६ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर सडकबाट नालामा खसेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । खड्का नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया