विराटनगर : रोटरी फाउण्डेसनको ग्लोबल ग्राण्ड कार्यक्रमअन्तर्गत निर्माण गरिएका विद्यालय भवनहरु व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका नवनिर्मित भवनहरु हस्तान्तरण गरिएको हो । रोटरी क्लब विराटनगरको युवा संस्था रोट्रयाक विराटनगरको अग्रसरतामा निर्माण गरिएको भवन पूर्ण बालमैत्री रहेका छन् ।
करिब ५० लाख रुपैयाँको लागतमा रोटरी फाउण्डेनको ग्लोबल ग्राण्ड कार्यक्रममार्फत ४ वटा भवन र एउटा शौचालय निर्माण गरिएको थियो । चारवटा पक्की भवनमा १२ वटा कोठा रहेका छन् । त्यस्तै अपाङ्मैत्री शौचालयमा छात्र र छात्राका लागि बेग्लाबेग्लै छ । यसअघि जीर्ण भवन थियो । रोटरीले भवन निर्माणसहित खेलमैदान, प्रवेशद्वारदेखि नै हरेक भवनमा पुग्नका लागि टायल बिछ्याएको छ । त्यसबाहेक पार्किङस्थल र खेलकुदका लागि बेग्लै स्थानसमेत बनाइएको छ ।
कार्यक्रममा मेयर कोइराला, रोटरी इन्टरनेशनलका वासुदेव गोल्यान, महानगरका प्रमुख प्रशासकीय अधिकृत राप्रसाद ढुङ्गेल, रोटरीका विभिन्न पदमा आबद्ध विनोद अग्रवाल, कमल अग्रवाल, अमित अग्रवाल, समाजसेवी उद्धव कोइराला, रोट्रयाकका अध्यक्ष प्रेम पारख, पूर्वअध्यक्ष एरोस पौडेल, सजल सुवेदीलगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, प्रधानाध्यापक राजेन्द्रप्रसाद थापालाई हस्तान्तरण गरेका थिए । मेयर कोइराला र गोल्यानले नवनिर्मित भवनको उद्घाटनसमेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक संरचनाको विस्तारसँगै विद्यालयको गुणस्तर सुधार्न निर्देशन दिए । उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले सक्दो प्रयास गरिरहेको जानकारी दिए । हरेक विद्यालयलाई पंखा, पानी र शौचालयको व्यवस्था मिलाइसकेको उनको भनाइ थियो । आवश्यक पर्ने अन्य सामान पनि महानगरले उपलब्ध गराउने प्रतिबद्धता जनाए । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले भौतिक संरचना मात्रै भएर नहुने विचार राखे । उनले भौतिक संरचनाको विस्तारसँगै गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि नगरेर प्रधानाध्यापक र शिक्षकलाई महानगरले प्रश्न सोध्ने उनले प्रट्याए ।
प्रतिक्रिया