पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको कार दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

विहीबार, ३१ जेठ २०८१
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटनामा परी बुधवार साँझ ३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन् । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकदेखि करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१० का कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ बर्सिया आशा श्रेष्ठ र सोही ठाउँकी ५० बर्सिया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते उनीहरूलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मी श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बुधवार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार