रंगेलीमा खेतमा पुरुष मृत भेटिए 

विहीबार, ०६ असार २०८१
विराटनगर । मोरङको रंगेलीमा एक जना पुरुष बिहीबार दिउँसो मृत भेटिएका छन् । खेतमा आली लगाउँदै गरेका पुरुष त्यही खेतमा मृत फेला परेका हुन् । रङ्गेली नगरपालिका–९ का ६० वर्षीय कात्तिकचन्द ऋषिदेवको शव १२ः३० बजेतिर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ऋषिदेव मृत भेटिएको खेत मोरङको लेटाङ नगरपालिकाका लालबहादुर घिसिङको हो । डिएसपी बस्नेतका अनुसार घिसिङको रङ्गेली–९ सखुवाथानस्थित खेतको आली लगाउने ठेक्का ऋषिदेवले लिएका रहेछन् । ऋषिदेव र रङ्गेली–९ का देवकुमार राजवंशीले आली लगाउँदै गरेकामा राजवंशी खानेपानी लिन भनेर गएको र उनी फर्किएर आउँदा ऋषिदेवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जानकारी बस्नेतले दिए । ऋषिदेवको शव खेतको गरोको एउटा आलीमा टाउको र अर्को आलीमा खुट्टा रहेको अवस्थामा फेला परेको हो । आली लगाउन प्रयोग गरेको फोरुवा भने मृतककै शरीरले थिचिरहेको अवस्थामा थियो । प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटना अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । अनुसन्धानबाट मृत्युको कारण यकिन हुने डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार