बर्दघाट- सिजी पोलिटेक्निकद्वारा नवलपरासीको सरावल गाउँपालिकाका युवाहरूलाई टेक्निसियन तालिम प्रदान गरिएको छ । युवाहरूलाई स्वरोजगार बनाउन सरावल गाउँपालिकासँगको सहकार्यमा सिजी पोलिटेक्निकले तालिम प्रदान गरेको हो ।
युवाहरूलाई सहजै रोजगारी मिल्ने र स्वरोजगार बन्न पनि सहयोग पुग्ने उद्देश्यले उनीहरूलाई रेफ्रिजेरेसन र एअर कन्डिसन टेक्निसियन तालिम प्रदान गरिएको हो । सिजी इलेकट्रोनिक्सको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चौधरी फाउन्डेसनले यो तालिमको कार्यान्वयन गरेको हो ।
चौधरी फाउन्डेसनका अनुसार सरावल गाउँपालिकाका २६ युवाहरूलाई तालिम दिइएको हो । तालिम ४८ दिनको रहेको थियो । तालिमका सहभागीहरूलाई सोमबार एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको हो । नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
चौधरी फाउन्डेसनका सरावल गाउँपालिकाले यस्तो तालिम आवश्यक छ भनेर प्रस्ताव गरेपछि हामीले तालिमको आयोजना गरेका हौँ, चौधरी फाउन्डेसनले भनेको छ, इलेकट्रोनिक्स टेक्निसियनको अभाव रहेछ, यो तामिलले युवाहरूलाई रोजगारी पाउन पनि सजिलो हुने र आफै पनि स्वरोजगार बन्न सक्छन् ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारुले चौधरी फाउन्डेसनले युवाहरूलाई तालिम प्रदान गरिदिएकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, यस्तो कार्यक्रमले युवाहरूलाई तत्काल रोजगारी सिर्जना गर्दछ । उनीहरू आफै पनि उद्यमशील बन्न सक्छन् । चौधरी फाउन्डेसनले नवलपरासीमा सिजी पोलिटेक्निक्समार्फत् ६ महिने प्राविधिक तालिम प्रदान गर्दै आएको छ ।
यस्तै सिजी इलेकट्रोनिक्ससँगको सहकार्यमा काडमाडौंको चन्द्रागिरि, सुनसरीलगायत देशका विभिन्न जिल्लामा युवाहरूलाई प्राविधिक तालिम दिएको छ । सांसद चौधरीले नवलपरासीमा रहेको आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न निकाय, चौधरी फाउन्डेसन र अन्य विभिन्न सामाजिक संघसंस्थामार्फत् युवा र महिलाहरूलाई लक्षित गरेर स्वरोजगार मूलक कार्यक्रम भइरहेका छन् ।
प्रतिक्रिया