बढ्दो यान्त्रीकरणले थपेको सहजता

मंगलबार, ११ असार २०८१
टीका खतिवडा इलाम, असार : रोपाइँका लागि कुनै बेला एक साता अघि नै गोरु र हली बन्दोबस्त गर्नु परेको स्मरण गर्दै इलामकी चित्रादेवी पोख्रेलले भनिन् "कहाँ भन्ने बित्तिकै गोरु पाइन्थ्यो र ?"  हो, उनले भनेजस्तै गाउँमा रहेका केही हल गोरु ठुला खेतीमा प्रयोग हुन्थे । साना खेतीका लागि पालो पर्खिएर नै गोरु पाइने चलन थियो । तर हाल त्यस्तो हुँदैन । गोरुको सट्टामा प्रयोग हुने गरी ९जोत्नका लागि० हाते ट्याक्टर प्रशस्तै पाइन्छन् । उसो त जोत्नका लागि हाते ट्याक्टर मात्र हैन कृषि औजारको सहज उपलब्धताले किसानलाई सहज भएको छ । कतिपय किसानले आफैँले पनि खरिद गरेर यसको प्रयोग गर्दै आएका छन् भने कतिपय किसानलाई सरकारले नै कृषि औजार खरिद गरेर दिने गरेको छ । पछिल्लो समय स्थानीय र प्रदेश सरकारले समेत किसानलाई यस्ता सामाग्री खरिद गरिदिँदै आएका छन् । चिया, दुग्ध, अलैँची, अमृस्रो, अकबरे, सुपारी देखि विभिन्न कृषि उपजबाट राम्रो आयआर्जन गरिरहेको कोशी प्रदेशले त्यही कृषि क्षेत्रको प्रवर्द्धनका कृषि यान्त्रीकरणमा जोड दिँदै आएको छ । यसले किसानलाई ‘सजिलो कृषि कम’ मा सहयोग गर्दै आएको छ । सूर्योदय नगरपालिका ११ का सन्तोष राईले केही गत वर्ष हाते ट्याक्टर (जोत्ने मेसिन) खरिद गरे । घण्टाको आठ सय ज्यालामा जोत्ने राईले आफूलाई मात्रै हैन टोललाई नै सेवा दिएर रोजगारी गरिरहेका छन् । पहाडमा  चिया, अन्नबाली देखि गाई पालन सम्म यान्त्रीकरणको प्रयोग बढेपछि राईलाई जस्तै अन्य कृषकलाई पनि कृषि कर्ममा सहयोग पुगेको राष्ट्रिय कृषक समूह महासङ्घ इलामका संयोजक राम मगर बताउँछन् । उनले भने ‘यान्त्रीकरणले कृषकलाई सहज बनाएको छ, गाउँमा काम गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा वरदान नै साबित भएको पाइन्छ ।’ खेतबारी जोत्न मात्रै हैन मुख्य नगदे बाली चियामा पनि यान्त्रीकरणले राम्रो ठाउँ पाएको छ । चिया टिप्ने देखि प्रशोधनका सबै प्रक्रियामा भारतीय र चाइनिज सामानले ओगटेको छ । ओइलाउने, रोलिङ गर्ने, सेटिङ गर्ने र सुकाउने सहितका यस्ता मेसिन जडान गर्न भवन र मेसिन सहित किसानले २० लाख देखि ६० लाख सम्म लगानी गरेका छन् । बाहेक पशु आहारका लागि घाँस–पराल टुक्र्याउने मेसिनको माग पनि बढेको छ । प्रदेश सरकार मार्फत स्थानीय तहहरूले बर्सेनि उल्लेख्य मात्रामा कृषि यन्त्रहरू वितरण गर्दै आएका छन् । यस्ता सामाग्रीले किसानलाई राहत मिलेको सूर्योदय नगरपालिका वाड न ८ का वडा अध्यक्ष जङ्गबहादुर गुरुङले बताए । उनले चालु वर्ष मात्रै कृषकलाई थोपा सिँचाइको सामग्री सहित एक सय ५६ वटा प्लास्टिक टनेल कृषकलाई वितरण गरेको बताए । यसले किसानलाई काम गर्न सहयोग गरेको उनको भनाई छ ।                       सस्तोमा काम  चिया टिप्ने मेशिनले घण्टामा झन्डै अढाई सय किलो हरियो पत्ति टिप्छ । सो मेशिनलाई घण्टामा आधा लिटर तेल लाग्छ । पावर टिलरले जमिन जोत्दा करिब १ लिटर इन्धनले १ घण्टामा १ रोपनी जमिन जोत्न सकिने भएकाले गोरुको तुलनामा यो प्रविधि निक्कै सस्तो पर्ने गर्दछ । यस्तो मेसिन किसान, कृषक समूह र सहकारीले खरिद गर्ने गरेको छ । सरकारले  आव ०७१÷७१ देखी यान्त्रीकरणमा अनुदानको दिँदै आएको छ । अनुदानमा कृषि यान्त्रीकरण उपलब्ध गराएदेखि उत्पादन र लागतमा सकारात्मक प्रभाव देखिएको मन्त्रालयलेको विश्लेषणमा उल्लेख छ ।
यान्त्रीकरण खरिदमा अनुदान दिनका लागि सरकारले न्यूनतम मापदण्ड तोकेको छ । कृषि विकास निर्देशनालय कोशिका अनुसार प्रदेशका १४ जिल्लामा ७ लाख ८९ हजार आठ सय १२ परिवार किसान रहेका छन् । कोशी प्रदेशमा उत्पादन भएका अलैँची, अदुवा, चिया लगायतका कृषि उपजले वैदेशिक मुद्रा भित्राउने गरेको छ । क्वारेनटाइन कार्यालय काकरभिट्टाका ०७९÷०८०को तथ्याङ्क अनुसार अदुवा चिया, अलैँची लगायत ९ प्रकारका कृषि उपज निर्यात भएका छन् त्यही अवधिमा भारतबाट त्यही मार्ग प्रयोग भएर ६५ प्रकारका कृषि बस्तु भित्रिएका छन् ।
त्यही अवधिमा क्वारेनटाइन कार्यालय विराटनगरबाट सुपारी देखि टिमुर सम्म १६ प्रकारका कृषि उपज निर्यात भएका छन् । कृषि क्षेत्रमा देश आत्मनिर्भर नहुँदा त्यही अवधिमा ९० प्रकारका कृषि बस्तु भित्रिएका छन् । प्रदेशको कुल भु-भागको ३१ दशमलव ३८ प्रतिशत कृषि क्षेत्र रहेको सरकारी तथ्याङ्क छ । प्रदेश सरकारले समुन्नत कृषि, सम्पन्न किसानस् समृद्ध प्रदेशको नारा अघि सारेको छ । जसमा कृषि आधुनिकीकरणलाई जोड दिँदै आएको छ । कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७४।०७५ देखि २०७५।०८० सम्म छ वर्षमा कोशी प्रदेश सरकारले सो मन्त्रालयलाई विनियोजन गरेको कुल बजेट मध्ये ४ अरब ७३ करोड २५ लाख ७१ हजार रुपैयाँ कृषि आधुनिकीकरणमा कृषककै हातमा पुग्ने गरी अनुदान दिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सरकारले कृषि यान्त्रीकरण र आधुनिकीकरणका लागि किसानको हातमै पर्ने गरी औषध वार्षिक ७८ करोड ८७ लाख ६१ हजारको हाराहारीमा अनुदान दिँदै आएको छ । कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोख्रेलका अनुसार  मन्त्रालय र मातहतका कार्यालयहरूबाट विभिन्न कार्यक्रम मार्फत कृषि क्षेत्रमा उत्पादन प्रवर्द्धन, उत्पादकत्व वृद्धि, विविधीकरण, प्रशोधन, व्यावसायिकीकरण, आधुनिकीकरण र बजारीकरणको लागि कृषि अनुदान प्रदान गर्ने गरिएको छ । प्रवक्ता पोख्रेलका अनुसार मन्त्रालयले सिधै किसानलाई यान्त्रीकरणको नाममा अनुदान दिन बन्द गरेको छ । उनले भने ‘स्थानीय सरकारले कृषि यन्त्र खरिद गरेर किसानलाई वितरण गर्ने प्रस्ताव गरे भने मात्रै त्यस्तो शीर्षकमा अनुदान उपलब्ध गराउने गरिएको छ ।’ आ।व। २०७९÷८० मा यस मन्त्रालयको कृषि क्षेत्रको चालु तर्फको कुल खर्च १ अरब ५० करोड ८५ लाख ७४ हजार मध्ये रु ८२ करोड २६ लाख ७३ हजार रकम अनुदान कार्यक्रममा खर्च भएको छ । कुल चालु खर्चमा ५५ प्रतिशत रकम अनुदान कार्यक्रममा भुक्तानी भएको मन्त्रालयले जनाएको छ । प्रत्येक वर्ष यही अनुपातमा बजेट विनियोजन हुने गरेको सरकारी तथ्यांकले देखाउँछ ।            प्रदेश देशी तह सम्म कृषि ऐनको अभाव  कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादन ८ सय ५० अरब मध्ये ३३।५ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको ऐन बनाउन र कार्यान्वयन गर्न स्थानीय सरकारहरू उदासीन देखिएको समयमा इलामको पुरानो नगरपालिका इलामले स्थापनाको ६५ वर्ष पछि कृषि ऐन पारित गरेको छ । इलाम नगरपालिकासँगै कोशी प्रदेशमा कृषि ऐन जारी गर्ने जिल्ला सात पुगेका छन् । यस अघि कोशी उदयपुरको वेलका नगरपालिका र कटारी नगरपालिका, इलामको सन्दकपुर गाउँपालिका, झापाको कनकाई नगरपालिका, ओखलढुङ्गाको  सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकामा कृषि ऐन बनेको छ । इलाम नगरपालिकाको १४ औँ नगर सभाले ऐन पारित गरेको इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी लिम्बु (दहाल)ले जानकारी दिइन् । उनले नगर सभाले पारित गरेको ऐन तत्काल कार्यान्वयनमा ल्याउने बताइन् । उनले भनिन् ‘ऐन बनेपछि किसानको पहिचान गर्न किसानलाई वर्गिाकरण सहितको किसान परिचय पत्र दिन समेत बाटो खुलेको छ ।’ ऐनले किसानलाई न्यायोचित अवसर प्रदान गर्न समेत सहयोग गर्ने उनको भनाई छ । उनले आगामी नगर सभाबाट कृषि नीति समेत ल्याउने बताइन् । कोशी प्रदेश र यहाँका एक सय ३७ वटा स्थानीय सरकार मध्ये एक सय ३० स्थानीय तहले केन्द्रीय सरकारले कहिले  ‘कृषि ऐनको ड्राफ्ट’ पठाउँछ र कार्यान्वयन गरौँ भनेर पर्खेर बसेको कारण वास्तविक कृषक लामो समय देखि सरकारी सेवाबाट वञ्तीत हुँदै आएको कृषि अभियान्ताहरु बताउँछन् । किसानका हितमा ऐन बनाउन पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु दुखद भएको पाँचथरका अगुवा कृषक गणेश पोख्रेल बताउँछन् । उनी भन्छन् ‘यसले सरकार किसानलाई मान्छे ठान्दैन भन्ने देखाउँछ ।’ प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधि भने ‘सहायक ऐन’ मानिने ‘कृषि व्यवसाय प्रवर्द्धन ऐन’लाई कृषि ऐन भनेर झुक्याइ रहेको राष्ट्रिय कृषक समूह महासङ्घ कोशीकी अध्यक्ष कुसुम दहाल बताउँछिन् । चिया, दुग्ध, अलैँची, अमृस्रो, अकबरे, सुपारी देखि विभिन्न कृषि उपजबाट राम्रो आयआर्जन गरिरहेको कोशी प्रदेशले त्यही कृषि क्षेत्रको प्रवर्द्धनका लागि न ऐन बनाउन सकेको छ नत कृषि नीति नै निर्माण गर्न प्रयास गरेको छ । कृषि अनुदानको नाममा आर्थिक वर्ष २०७९÷८० मा ८२ करोड २६ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरेको  कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई व्यवस्थित गर्न अत्यावश्यक ठानिएको कृषि ऐन र नीति निर्माण गर्न भने कुनै चासो देखाएको छैन । कोशिका कृषकका हितमा  किसानको पहिचान, वर्गीकरण र किसान परिचयपत्र वितरण गर्न बाटो खोल्ने ऐन जारी गर्न सरकारले ढिलो गर्न नहुने इलाम सूर्योदय नगरपालिका १ का अगुवा कृषक अर्जुन भट्टराई बताउँछन् । उनले सरकारले किसानका कुरा सुन्ने भन्दा पनि नेतृत्वमा रहेकाहरूले किसानलाई आफ्ना कुरा लाद्ने गरेको बताए । उनले भने ‘बिचौलिया अत्य गर्न र अनुदान वितरणलाई व्यवस्थित गर्न पनि ऐन आवश्यक छ ।’ उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशिका सचिव डा. लेखराज दहालले प्रदेशमा कृषि ऐन र नीति हाल सम्म नरहेको बताउँछन् । उनी भन्छन् ‘सङ्घ सरकारले कृषि ऐन बनाउँदै छ, हामीले २५ पेज लामो सुझाव पठाएका छौँ ।’ उनले कृषि नीतको मस्यौदामा काम भइरहेको बताए । किसानलाई राहत दिने गरीका कार्यक्रम ल्याउन आवश्यक छ । भएका केही बाधा समेत हटाएर सहज परिस्थितिको सृजना हुने पर्ने किसानहरूको माग छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार