प्रथम देउमाई नगर पुरुष फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

बुधबार, १२ असार २०८१
मंगलबारे / असार प्रथम देउमाई नगर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताबाट आयोजकलाई आठ हजार नौ सय दुई रुपयाँ आम्दानी भएको छ । गएको मङ्सिर ९ देखि १६ सञ्चालित प्रतियोगिताबाट आयोजकलाई सो रकम बचत भएको हो । प्रतियोगिता नेपाल तरुण दल देउमाई नगर कार्यसमितिले आयोजना गरेको थियो । प्रतियोगितामा दाताबाट छ लाख ५१ हजार चार सय चार रुपयाँ सङ्कलन भएको थियो । जसबाट प्रतियोगिता सञ्चालनमा छ लाख ४२ हजार पाँच सय दुई रुपयाँ खर्च भएको थियो । आयतर्फ सबैभन्दा बढी नेपाली काँग्रेस इलाम सभापतिले नगद ६० हजार प्रदान गरेका थिए । त्यस्तै इलाम नगरपालिकाले ५० हजार सहयोग गरेको थियो । त्यस्तै समाजसेवी जनक तिम्सिनाले ५० हजार, अविषा ज्वेलर्ष मङ्गलबारेले ३१ हजार सात सय ३१ प्रदान गरेको थियो । प्रदेश सांसद गोविन्द गिरीले ३१ हजार तीन सय ३१ प्रदान गरेका थिए । अन्य सहयोगीहरूबाट गरेर सो रकम सङ्कलन भएको थियो । प्रतियोगिताका लागि छपाई तर्फ ९७ हजार नौ सय खर्च भएको थियो । पुरस्कारमा ८२ हजार चार सय ८२ रुपयाँ खर्च भएको थियो । साउन्ड सिस्टमका लागि ४९ हजार खर्च भएको थियो । स्वयंसेवक खाजामा ४६ हजार तीन सय, लाइभ र फोटोग्राफीमा ४६ हजार खर्च भएको आयोजक तरुण दल देउमाईका अध्यक्ष विमल खम्बुले जानकारी दिए । उनका अनुसार ज नचेतनामुलक कार्यक्रम, साङ्गीतिक कार्यक्रम, कलाकार खर्च लगायत गरेर खर्च भएको थियो । हाल आयोजकको खातामा आठ हजार नौ सय दुई रुपयाँ बचत भएको छ । दाताहरूले कबोल गरेको एक लाख २३ हजार तीन सय ६० रकम उठ्न बाँकी रहेको छ । सो रकम उठेपछि आयोजकको आम्दानीमा रहने अध्यक्ष खम्बुको भनाई छ । प्रतियोगितामा देउमाई नगरपालिकाका १२ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमलाई नगद ५१ हजार १ सय ५१ र उपविजेता टिमलाई नगद ३१ हजार १ सय ३१ सहित ट्रफि वितरण गरिएको थियो । प्रतियोगिता देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार