विराटनगर : अविरल वर्षाका कारण कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ । सामान्य वर्षा हुँदा समेत विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको हो ।
अविरल वर्षासँगै पहाडमा बाढी पहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ । बाढी, पहिरो, डुबान तथा चट्याङबाट मानवीय र भौतिक क्षति भइरहेको छ । मनसुन भित्रिएयता बाढी, पहिरो, डुबान र चट्याङमा परेर २४ जनाको मृत्यु भइसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
१७ जनाभन्दा बढी घाइते र २ जना बेपत्ता भएको तथ्याङ्क प्रहरीले उपलब्ध गराएको छ । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको जनाइएको छ ।
प्रदेशका प्रहरीका प्रवक्ता एवं एसपी सुमनकुमार तिम्सिनाका अनुसार मोरङमा ६, ताप्लेजुङमा ५, झापा र सङ्खुवासभामा ४÷४, इलाम र सुनसरीमा २-२, तथा ओखलढुङ्गामा १ जनाको मृत्यु भएको हो । बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको उनले बताए । एसपी तिम्सिनाका अनुसार अनुसार ताप्लेजुङमा ७५, मोरङमा ६८, सङ्खुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित भएका छन् ।
विस्थापित भएकालाई उद्धार गरेर सुरक्षित स्थानमा लगी विद्यालय, सामुदायिक भवनलगायतमा अस्थायी वासस्थानको व्यवस्था गरिएको उनको भनाइ छ । प्रहरीका अनुसार बाढी र पहिरोका कारण ३३ वटा घरमा पूर्ण र ४२ वटा घरमा आंशिक क्षति पुगेको छ ।
प्राकृतिक प्रकोपमा परेर पछिल्लो २ दिनमा मात्रै ९ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर ६ तथा चट्याङले लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाएर २ जना बेपत्ता छन् ।
मोरङको रङ्गेली नगरपालिका–४ मा घाँगी खोलाले बगाउँदा ४५ वर्षीय नागेन मण्डलको बुधवार मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ४ जनाले एकै पटक तर्न खोज्दा बिहान १०ः४५ बजेतिर नागेनलाई खोलाले बगाएको थियो ।
स्थानीयको सहयोग लिएर नेपाल र सशस्त्र प्रहरीले खोजी गर्दा घटनास्थलबाट १ सय ५० मिटर जति तल शव भेटिएको डिएसपी बस्नेतले बताए । नागेनसँगै रहेका अरू ३ जना सकुशल छन् ।
मोरङको रतुवामाई नगरपालिका–५ का नुर मोहम्मदका २ वर्षीय छोरा मोहम्मद मुसाहाको घरनजिक जमेको पानीमा डुबेर बुधवार मृत्यु भएको छ । मोरङ र सुनसरीको सिमाना भएर बग्ने बूढी खोलाले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका–५ खोक्साका २ जना बेपत्ता छन् । बाढीले २४ बर्सिया फूला चौधरी र ६० बर्सिया असरादेवी चौधरीलाई बेपत्ता बनाएको हो ।
माहिली फुदनी भनिने २२ बर्सिया प्रेमकला चौधरी इटहरी उपमहानगरपालिका–४ स्थित गैरी गाउँमा मृत फेला परेकी थिइन् । २२ बर्सिया स्वस्तिका चौधरीलाई उद्धार गरिएको थियो । प्रहरीका अनुसार फूला, प्रेमकला र स्वस्तिका एकै परिवारका बुहारी तथा असरादेवी उनीहरूकी कार्की सासू हुन् ।
माछा मार्न गएका बेला ४ जनालाई नै मङ्गलवार बिहान बूढी खोलाले बगाएको जानकारी प्रहरीले दिएको छ । प्रेमकला मृत फेला परे पनि फूला र असरादेवी बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मोरङकै केराबारी गाउँपालिका–४ को गोगने खोलाले बगाउँदा ११ वर्षीय श्याम राईको मङ्गलवार मृत्यु भएको थियो । विद्यालय जाने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको हो । श्यामलाई उद्धार गर्न खोज्दा १४ वर्षीय भरत राई घाइते भएका थिए । ओखलढुङ्गामा पहिरोले घर पुरिदा बुधवार बिहान १ जना महिलाको मृत्यु भएको छ ।
अविरल वर्षासँगको पहिरोले चिसंखुगढीगाउँपालिका–५ थुम्कीमा घर भत्काउँदा ३५ बर्सिया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देवकुमारीका पति ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ बर्सिया मेनुका खत्री घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका–१४ नमुना टोलका बामरा सतारका २० महिने छोरा रिहान सतारको मङ्गलवार साँझ खोलाले बगाएर मृत्यु भएको छ । खेल्ने क्रममा फूल बासा खोलामा खसेका उनको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर मङ्गलवार झापामा २ जनाको मृत्यु भएको थियो ।
कमल गाउँपालिका–६ का ४६ वर्षीय राजन खड्का र गौरादह नगरपालिका–८ का ४२ वर्षीय विकाश गिरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुनसरीको रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेशकुमार चौधरीको पनि चट्याङले लागेर मृत्यु भएको थियो । खेतमा काम गर्दै गर्दा चट्याङले लागेर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
निरन्तरको वर्षासँगै प्रदेश राजधानी विराटनगर डुबानमा परेको छ । बुधवार दिउँसोबाट पानी रोकिएपछि डुबान कम हुँदै गएको थियो । विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन् । दुवै खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिरेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिए ।
बाढी बस्तीमा छिरेपछि खोला आसपासका करिब ५ सय घर डुबानमा परेको अनुमान छ । विराटनगरका धेरै घरहरूमा पानी छिरेको थियो । बस्ता खोलाको बाढी पस्दा विराटनगर विमानस्थलमा उडान अवरुद्ध भएको थियो । ट्याक्सी वे र पार्किङमा खोलाबाट ‘ओभरफ्लो’ भएर बाढी पसेको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताए । उनका अनुसार घाम लागेर दिउँसो २ बजेपछि पानी सुकेसँगै उडान सुचारु भएको थियो ।
विराटनगर महानगरपालिका–८ सुकुम्वासी बस्तीमा सिंघिया खोलाको बाढी पस्दा १० परिवार विस्थापित भएका छन् । विराटनगर–१९ सरदार टोलका १० र मोरङको बूढीगंगा गाउँपालिका–१ मा १६ परिवार विस्थापित भएको एसपी कार्कीले बताए । विस्थापित परिवारलाई खुला ठाउँमा त्रिपाल टाँगेर, विद्यालय, सामुदायिक भवन र छिमेकीको घरमा राखिएको छ । विराटनगर–१२ बखरीमा केसलिया खोलाको बाढी पसेको थियो ।
वर्षासँगै सडक जलमग्न हुँदा कोशी लोक मार्गमा सवारीसाधन आवागमनमा समस्या भएको थियो । बूढीगंगा–२ मा रहेको विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष र विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको भुईँ तला डुबानमा परेको प्रहरीले जनाएको छ । तर, दुवै अस्पतालमा सेवा भने सुचारु रहेको थियो ।
विराटनगर–७ स्थित मालपोत कार्यालयभित्र पानी पस्दा केही कागजपत्र र कम्प्युटर डुबेर क्षति पुगेको प्रहरीले जनाएको छ । विराटनगर–३ स्थित प्रहरी चौकी बरगाछीको भाडाको घरभित्र र विराटनगर–८ हाटखोलास्थित वडा प्रहरी कार्यालयको ब्यारेक तथा मेसमा समेत १ फिट जति पानी जमेको थियो ।
निरन्तरको वर्षासँगै विराटनगरमा डुबान हुँदा अधिकांश स्थान जलमग्न बनेका थिए । विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन । जसका कारण सामान्य वर्षामै डुबानमा हुन्छ । विराटनगरका विराटनगर महानगरपालिकाले पानीको निकासलाई व्यवस्थित गर्न सकिरहेको छैन । महानगरपालिकाकै लापरबाही र बेवास्ताका कारण बर्सेनि सयौँ सर्वसाधारण बाढी एवं डुबानको चपेटामा पर्ने गरेका छन् ।
एसपी कार्कीले ठाउँ ठाउँमा प्रहरी परिचालन गरेर बाढी र डुबानबाट पीडित भएकाको उद्धार गरिएको बताए । जोखिमयुक्त स्थानका र समस्यामा परेका सर्वसाधारणलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको उनले बताए । ‘सम्भावित जोखिमलाई ध्यानमा राखेर ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ एसपी कार्कीले भने, ‘जोखिमयुक्त ठाउँहरूको निरीक्षण गर्ने र सर्वसाधारणलाई सचेत गराउने काम जारी छ ।’
विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ । विराटनगर महानगरका प्रवक्ता एवं विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले पीडितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको बताए ।
विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनको भनाइ छ । अविरल वर्षाले जनजीवन प्रभावित भएसँगै विराटनगर महानगर क्षेत्रका विद्यालयमा बुधवार बिदा दिइएको छ । सरकारी तथा निजी विद्यालयमा एक दिन पठनपाठन बन्द गरिएको हो ।
प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले वर्षा रोकिएर डुबानेको समस्या सामान्य बन्दै गएमा बिहीबारदेखि पठनपाठन नियमित हुने जानकारी दिए । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले मनसुनजन्य प्रकोप सुरु भएसँगै खोज तथा उद्धारलाई प्रभावकारी बनाइएको जानकारी दिए ।
‘पीडितको उद्धारका लागि कुनै कसर बाँकी राखिने छैन । सम्भावित जोखिमको आकलन गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धारलाई प्राथमिकतामा राखिएको छ ।’ डिआइजी खापुङले क्षति न्यूनीकरणका लागि सबै निकायबिच एक आपसमा समन्वय गर्ने काम भइरहेको बताए ।
कोशी प्रदेशमा विगतभन्दा यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी परेर मनसुनजन्य जोखिमको सम्भावना अधिक रहेको पूर्वानुमान छ । मुलुकका ७ वटा प्रदेशमध्ये मनसुनमा कोशी सबैभन्दा बढी प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको हो । यो प्रदेशमा करिब १ लाख १३ हजार परिवारका करिब ५ लाख मानिस विपद्बाट कुनै न कुनै हिसाबले प्रभावित हुने आकलन गरिएको छ ।
कोसीमा बाढी पहिरो तथा डुबानका घटनाबाट २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा ५ हजार परिवारलाई राहत र उद्धारको व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ । मनसुनजन्य प्रकोपको विश्लेषण गर्दै क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पास गरेर कार्यान्वयनमा लगिसकेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।
उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद् व्यवस्थापन कार्यलाई अघि बढाएको छ । ‘प्राकृतिक प्रकोप देखा परेको ठाउँमा उद्धारका लागि नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीसहितको टोली परिचालन गरिएको छ,’ थापा भन्छन्, ‘अन्य सरकारी संयन्त्र पनि परिचालन गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाइएको छ ।’ उद्धारका लागि स्रोत, साधन तथा जनशक्तिको व्यवस्थापन मुख्य चुनौती छ ।
मनसुनजन्य प्रकोपलाई दृष्टिगत गरी खोज, उद्धार तथा राहत र शीघ्र पुनर् लाभका लागि अत्यावश्यकता मानवीय सहयोग एवं पुनः निर्माण र पुनर्स्थापनामा आधारित रहेर सरकारले काम गरिरहेको थापाले बताए ।
उनका अनुसार मुख्यमन्त्री हिकमतकुमार कार्कीको अध्यक्षतामा यसअघि बसेको प्रदेश विपद् परिषद्को बैठकले विपद्का समयमा खोज, उद्धार, राहत सामग्री खरिद र भण्डार गर्न सक्ने अधिकार आन्तरिक मामिला मन्त्रालयलाई दिएको छ । त्यसका लागि विपद् व्यवस्थापन कोषबाट ६ करोड रुपैयाँ खर्च गर्ने तयारी रहेको उनले बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति वा स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसका आधारमा पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको तयारी छ । ‘विस्थापित भएकालाई तत्काल त्रिपाल, खाद्यान्न, कम्बल र भाँडाकुँडालगायतका राहत सामग्री दिन्छौँ,’ निमित्त सचिव थापाले भने, ‘विपद्मा उद्धारका लागि मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सबै सुरक्षा निकाय सम्मिलित सूचना समन्वय इकाई खडा गरेर काम सुरु गरिएको छ ।’ इकाईले विपद्का बेला खोज तथा उद्धारका लागि तत्काल टोली परिचालन गर्ने उनको भनाइ छ ।
थापाका अनुसार प्राकृतिक प्रकोपमा परेर भएको क्षतिको विवरण अनुसार राहत रकम उपलब्ध गराइने छ । ‘एकाघरको दुई जनासम्मको मृत्यु भएमा प्रतिव्यक्ति १-१ लाखका दरले र दुई जनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँका लागि दरले राहत रकम दिइने छ,’ उनले भने, ‘यसअघि ताप्लेजुङका पीडित परिवारलाई ३ लाख दिइसकिएको छ ।’ घर पूर्ण क्षति भएमा ५० हजार, आंशिक क्षति भएमा ३० र सामान्य क्षति भएमा १५ हजार रुपैयाँका दरले राहत रकम दिइने उनले बताए ।
प्रतिक्रिया