एसइई रिजल्ट : फाकफोकथुमको उत्तीर्ण दर कमजोर इलामको सबैभन्दा राम्रो

आइतबार, २३ असार २०८१
इलाम /भर्खरै एसइईको रिजल्ट आएको छ । रिजल्टको चर्चा अझै कायम छ । यस वर्ष कम सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएपछि पनि यसको चर्चा भइरहेको हो । इलाममा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १० स्थानीय तह रहेको इलाममा इलाम नगरपालिकामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् भने फाकफोकथुम गाउँपालिकामा सबैभन्दा कम अर्थात् ७.९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । फाकफोकथुममा दुई सय ५३ विद्यार्थीले परीक्षा दिएकामा २० विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ । माइजोगमाई गाउँपालिकाबाट ९.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । दुई सय ६६ विद्यार्थीले परीक्षा दिएकामा २६ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । यस्तै माङ्सेबुङबाट यो वर्ष १०.९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए । दुई सय २० विद्यार्थीले परीक्षा दिएकोमा २४ जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख बुद्धि खतिवडाले बताए । सन्दकपुर गाउँपालिकाबाट पनि १२.१९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । शिक्षा शाखाका अनुसार एक सय ६४ विद्यार्थीले परीक्षा दिएकामा २० जनामात्रै उत्तीर्ण भएको जनाइएको छ । माई नगरपालिकाबाट पनि १८.८४ प्रतिशत मात्र उत्तीर्ण भए । तीन सय ९८ जनाले परीक्षा दिएकामा ७५ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । रोङ गाउँपालिकामा पनि २०.१४ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा शाखा प्रमुख सृष्टि तामाङका अनुसार एक सय ३९ जनाले परीक्षा दिएकामा २८ जना उत्तीर्ण भएका हुन् । देउमाईमा तीन सय ८१ विद्यार्थी सहभागी भएकोमा ९२ जना (२४. १४ प्रतिशत) उत्तीर्ण भए । सूर्योदय नगरपालिकाबाट ३६.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले पाँच सय ५९ विद्यार्थीले परीक्षा दिएकामा दुई सय दुई जना उत्तीर्ण भएको बताए । चुलाचुली गाउँपालिकामा ५४.७७ प्रतिशत उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताए । इलाम नगरपालिकाबाट सबैभन्दा धेरै ५५.८१ प्रतिशत उत्तीर्ण भएका छन् । इलाम नगर शिक्षा शाखा प्रमुख राधिका घिमिरेका अनुसार सात सय ७४ विद्यार्थीमध्ये चार सय ३२ जना उत्तीर्ण भएका हुन् । इलाम नगरका १५ सामुदायिक र १३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सामेल थिए । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लका १५ विद्यालयको नतिजा भने शून्य आएको छ । यस वर्षको एसइईको रिजल्टले बिद्यार्थी तथा शिक्षकहरूलाई निकै नै झकझक्याएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार