‘पूर्ण खोप सुनिश्चित’ घोषित भयो इलाम इलाम नगरपालिका

सोमबार, २४ असार २०८१
इलाम /  इलाम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई ‘पूर्ण खोप सुनिश्चित’ घोषणा गरेको हो । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ । बाँकी १६ देखि ५९ महिनाका बालबालिकालाई दिइने विभिन्न खोप पनि इलाम नगरले सुनिश्चित गरेको नगरले जनाएको हो । यसअघि नै नगरपालिकाका सबै वडाले आफूलाई ‘पूर्ण खोप सुनिश्चित’ घोषणा गरिसकेका छन् । नगरपालिकाले गत फागुन, चैतमा घर लौरी सर्वेक्षण गर्दा जन्मेदेखि १५ महिनाका सबै बालबालिकाले खोप लगाएको भए पनि १६ देखि ३९ महिनाका २६ बालबालिका भने कुनै न कुनै खोपबाट छुटेको पाइएको थियो । अन्य दुई बालबालिका भने इलाम नगरपालिकाबाहिरबाट आएका कारण दुई जनामा शून्य खोप पाइएको नगरपालिकास्थित स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताए । खोप छुटेका सबै बालबालिकालाई खोप दिएर पूर्ण खोपको सुनिश्चित गरिएको खनालले जानकारी दिए । यो वर्ष इलाम नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका पाँच सय ६६ बालबालिकाले पूर्ण खोप लिएका छन् । इलाम जिल्लालाई नै ०७२ सालमा ‘पूर्ण खोपको जिल्ला’ घोषणा गरिएको थियो । बिफर, दादुरा, पोलियो, कोभिडजस्ता सरुवा रोग, निमोनियाँ, हेपाटाइटिसजस्ता रोग सङ्क्रमणबाट बचाएर स्वस्थ जनशक्ति उत्पादन गर्न बालबालिकामा खोप लगाउनु पर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार