श्री अन्तुमा यसरी शुरू भयो होमस्टे, कति आउँछन् पर्यटक ?

शनिबार, १९ साउन २०८१
टीका खतिवडा/ इलाम : रात नै बस्नेगरी पाहुना आउन थालेपछि आफ्नो मात्रै परिवार बस्दै आएको घरमा नै पाहुनालाई बास दिन थालियो । धेरै पाहुना आउजाउ गर्न थालेपछि इलामको पर्यटकीय स्थल श्री अन्तुमा व्यावसायिक रूपमा पाहुना राख्न शुरु गरियो । खासगरी २०६७ सालबाट स्थानीय मानिसहरू संगठित भएर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएपछि अन्तुले पर्यटकीय हबको रूपमा फड्को मार्दै गयो । जसकारण आजपनि पूर्वी नेपाल घुम्नुपर्दा श्री अन्तु आम मानिसको रोजाइमा पर्ने गरेको छ । स्थानीय धनकुमार आलेको संयोजकत्वमा श्री अन्तु सामुदायिक होमस्टेको अवधारणा शुरु भएसँगै त्यसताका डेढ दर्जन घरमा पाहुना बस्नेगरी प्रबन्ध मिलाइयो । १८ घर परिवार दर्ता भएर सामुदायिक होमस्टे सञ्चालन गरिएसँगै हाल भने ठूला होटलहरू पनि सञ्चालनमा आउन थालेसँगै अन्तुमा पर्यटनको थप विकास हुँदै आएको छ । अहिले होमस्टेबाट सो स्थानमा तारे होटलसम्म स्थापना भएका छन् । जिल्लामा रहेका अरू पर्यटकीय स्थलभन्दा सबैभन्दा धेरै पर्यटककहरू अन्तु जाने गरेको व्यवसायीहरू बताउँछन् । पर्यटक बास बस्नेगरी जाने जिल्लाको प्रमुख गन्तव्य नै हाल श्री अन्तु भएको व्यवसायीहरू बताउँछन् । सूर्योदय नगरपालिका–५ मा रहेको श्री अन्तु नेपाली, भारतीय तथा तेस्रो देशमा पाहुनाहरूका लागिसमेत आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । खासगरी यहाँ बिहानको समयमा उदाउँदो सूर्योदय नियाल्न र साँझ सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । श्री अन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेका अनुसार बर्खाको समयमा पनि दैनिक तीन सयदेखि एक हजारसम्म पर्यटक बास बस्नेगरी आउने गरेका छन् । बर्खाको सिजनमा समेत हो तीन सय देखी एक हजारसम्म दैनिक पर्यटक बास बस्ने गरि पुग्ने गरेका छन् । अन्तुमा रहेका जम्मा एक सय ४८ वटा होटल र होमस्टेमा सुविधाजनक रूपमा तीन हजार देखि तीन हजार दुई सयसम्म पर्यटक राख्नसक्ने क्षमता रहेको उनले बताए । ‘बढीमा तीन हजार पाँच सय मानिस राख्न सकिन्छ,’ उनले भने, ‘हिउँदका सिजनमा यहाँ पाहुना राख्नका लागि निकै कठिन हुने गरेको छ ।’ उनका अनुसार यस क्षेत्रमा तीनवटा होटल सञ्चालकको संस्था रहेको छ । शुरुमा दर्ता भएर सञ्चालमा आएको अन्तुडाँडा होमस्टेमा हाल ५० वटा होम स्टे दर्ता भएर सञ्चालनमा रहेको छ । त्यस्तै, श्री अन्तु पर्यटन व्यवसायी संघमा ८५ वटा होटलहरू दर्तामा रहेका छन् । हाल अन्तुपोखरी होमस्टे समेत दर्ता भएर १३ वटा दर्ता रहेको पर्यटन व्यवसायी घिमिरे बताउँछन् । ‘होमस्टे’ ले आन्तरिक तथा बाह्य पाहुना प्रबद्र्धन गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । श्री अन्तुमा धनकुमार आले नै पहिलो ‘होमस्टे’ सञ्चालन गर्ने व्यक्ति हुन् । उनले २०५५ सालबाट नै पाहुना राख्न थालेको बताइन्छ । त्यसबेला ‘होमस्टे’ लाई ‘पेइङगेष्ट’ भनिन्थ्यो । ‘पेइङगेष्ट’ को नामबाट शुरू भएको व्यवसाय प्रबद्र्धनका लागि सरकारले कार्यविधि बनाएपछि ‘होमस्टे’ नामाकरण भएको पाइन्छ । पछि गएर २०६७ सालदेखि घरबासको रूपमा ‘होमस्टे’ सञ्चालन गर्दै आएको बताइएको छ । स्थानीयले ‘होमस्टे’ प्रबद्र्धनका लागि २०६० सालमा ‘अन्तु पर्यटन महोत्सव’ शुरू गरेपछि अन्तुले चर्चा कमायो, सो चर्चा हालसम्म छ । सूर्यको दर्शन गर्न आएका मानिसहरूबाट नै यहाँ पर्यटक आउन थालेको जानकारहरू बताउँछन् । शुरूमा सूर्यको भाकल बुझाउन आएका मानिसहरू हाल विकसित हुँदै पर्यटक बनेको बुढापाकाको भनाई छ । प्रचारका लागि भनेर २०६० सालदेखि अन्तुमा महोत्सव गर्न थालिएको थियो । १० वर्षसम्म पर्यटन महोत्सव पछि अन्तु सधैँ महोत्सव भए झैँ पर्यटक तान्ने गन्तव्य बन्दा यहाँका पर्यटन व्यवसायीहरू खुशी देखिन्छन् । खासगरी सूर्याेदय सिजन भनेर असोजदेखि पुससम्मलाई लिइन्छ । तर, हाल पर्यटक सूयोदयसँगै बर्खाको समयमा गर्मी छल्नसमेत पुग्ने गरेका छन् । प्रत्येक शुक्रबार र शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटक आउने गरेको होमस्टे व्यवसायीहरू बताउँछन् । होमस्टेबाट पाहुना राख्न शुरू गरिएको अन्तुमा हाल तारे होटलसम्म सञ्चालनमा रहेका छन् । हाल पर्यटकले रोजेर बास बस्नसक्ने सुविधा रहेको छ । यहाँ होटल हिल टावर प्रालि तारे होटल नै खुलेको छ । यसले यहाँ आंशिक सेवा शुरू गरेको जनाएको छ । पछिल्लो समय जिल्ला बाहिरका धेरै पर्यटन व्यवसायीलेसमेत यस क्षेत्रमा लगानी गर्दै आएका छन् । अन्तुसम्म पुग्न पक्की सडक छ । मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी नै लिएर यहाँ पुग्न सकिन्छ । सूर्योदय नगरपालिको फिक्कल बजारदेखि १३ किलोमिटरको दूरीमा श्री अन्तु पुग्न सकिन्छ । अन्तुडाँडा समुद्री सतहबाट करिब दुई हजार तीन सय मिटरको उचाईमा छ । नेपाल विश्वको घुम्नैपर्ने सूचीमासमेत रहेको पाइन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा १० लाख १४ हजार ८ सय ७१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार