बच्चा सिकिस्त भएपछि बुद्ध एयरको जहाजलाई विराटनगर फर्काइयो, नाबालकको मृत्यु

बुधबार, २३ साउन २०८१
विराटनगर । यात्राका क्रममा नाबालक सिकिस्त भएपछि विराटनगर विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजलाई बुधबार दिउँसो विराटनगर नै फर्काइएको छ । यूफोर ७१० कल साइन भएको जहाज उडिरहेका बेला नाबालक सिकिस्त भएपछि फर्काएर विराटनगर नै ल्याण्ड गराइएको हो । नाबालकको भने मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडाका ताराकिरण राईका ५ वर्षीय छोरा संयोगहाङ राई रहेका छन् । विराटनगरबाट ५७ जना यात्रु लिएर बुधबार दिउँसो १२ः२४ बजेतिर काठमाडौंका लागि उडेको जहाजलाई फर्काएर १२ः५९ बजेतिर विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको थियो । बुद्ध एयर विराटनगरका स्टेशन मेनेजर कौशल भण्डारीका अनुसार नाबालकलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि उडिरहेको जहाजलाई फर्काएर विराटनगर नै ल्याइएको हो । ‘बच्चा सिकिस्त भएपछि बीचैबाट जहाजलाई फर्काएर विराटनगर ल्याण्ड गराइयो । जहाजबाट बाहिर निकाल्दै तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पठाइयो,’ भण्डारी भन्छन्, ‘जहाजबाट निकाल्दा बच्चाको अवस्था सामान्य थियो । श्वासप्रश्वास चलिरहेको थियो ।’ बच्चालाई आकस्मिक समस्या परेपछि जहाज काठमाडौं पुग्न नसकेको र बीचबाटै फर्काइएको उनले बताए । बच्चालाई सामान्य अवस्थामै जहाजमा चढाइएको उनी बताउँछन् । भण्डारीका अनुसार जहाजले उचाइ लिने क्रममा अक्सिजनको कमी भएर बच्चालाई श्वासप्रश्वासमा समस्या भएको हुनसक्ने अनुमान गरिएको छ । जहाजलाई कहाँको आकाशमा पुगेपछि फर्काइयो भन्ने यकिन नभएको भण्डारी बताउँछन् । बच्चालाई उपचारका लागि पठाउँदै जहाज भने यात्रु लिएर काठमाडौं गइसकेको उनको भनाइ छ । नाबालकलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । प्रहरीका अनुसार अस्पताल पुर्याउनसाथ दिउँसो १ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । पेट दुख्ने समस्या देखिएपछि नाबालकलाई उपचारका लागि अभिभावकले मंगलबार राति नै अस्पताल भर्ना गरेका थिए । थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जहाजभित्रै सिकिस्त बनेका नाबालकको मृत्यु भएको हो । अस्पतालका बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीका एक्स–रे गरेर हेर्दा बच्चाको सानो आन्द्रामा अवरोध देखिएको थियो । ‘आन्द्राको ‘ब्लक’ खुलाउन तत्काल शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । अस्पताल ल्याउँदा नै बच्चाको अवस्था गम्भीर थियो,’ डा. अधिकारीले भने । तर, शल्यक्रिया गर्न नमानेर अभिभावकले थप उपचारका लागि काठमाडौं लिएर गएको उनको भनाइ छ । शल्यक्रिया गर्नुपर्छ भनेर दिएको सल्लाह नमानिकन अभिभावकले लैजाने भनेर आग्रह गरेपछि अस्पतालले कागज गरेर नै बच्चालाई बिदा दिएको उनले बताए । अवस्था गम्भीर रहेकाले बच्चा तलमाथि हुनसक्छ भनेर सचेत गराउँदा पनि अभिभावकले आफ्नै ‘रिक्स’मा लिएर गएको डा. अधिकारीको भनाइ छ । उनका अनुसार अस्पतालले बिदा दिएको करिब ३ घण्टापछि बच्चालाई गाह्रो भयो भनेर पुनः ल्याइएको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको थियो,’ डा. अधिकारीले भने, ‘मृत्यु भएको करिब ४५ मिनेटजति भइसकेको थियो होला ।’ बुद्ध एयरले नाबालकलाई सामान्य अवस्थामै अस्पताल पठाइएको दाबी गरेको छ । तर, अस्पतालले भने जहाजभित्रै मृत्यु भइसकेको हुनसक्ने भनेको छ । ‘उपचारका लागि ल्याइपुर्याउँदा बच्चाको मृत्यु भइसकेको थियो,’ डा. अधिकारी भन्छन्, ‘मृत्यु भएको करिब ४५ मिनेटजति भएको हुनुपर्छ ।’ विमानस्थलबाट अस्पताल करिब ३ किलोमिटर मात्रैै टाढा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार