विराटनगरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

मंगलबार, ११ भदौ २०८१
विराटनगर : विराटनगरमा करेन्ट लागेर मंगलबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका–३ गंगाचोक घर भएका ४२ वर्षीय सन्तोष कार्की रहेका छन् । उनी विराटनगर महानगरपालिका–३ स्थित विराट हेल्थ कलेजका सवारी चालक थिए । कार्कीले विराटनगर–३ खार्जी चोकमा विराट श्री होस्टल सञ्चालनको तयारी गरेका थिए । होस्टलको उद्घाटन बुधबार थियो । होस्टलको ३ तलामाथि ‘वेल्डिङ’का लागि फलामको ‘पाइप’ तान्ने क्रममा बिहान ११ः४५ बजेतिर कार्कीलाई करेन्ट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार ‘पाइप’ले विद्युतको ‘हाइटेन्सन’ लाइनको तार छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराट शिक्षण अस्पताल लगिएका कार्कीको आज दिउँसो १ः३५ बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए । कार्कीले सञ्चालन गर्न लागेको होस्टलका सहयोगी पाँचथरको हिलिहाङ गाउँपालिका–६ का २९ वर्षीय बलबहादुर लिम्बू करेन्ट लागेर सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार