पाँचथर : पाँचचथरको फालेलुङ ५ डाडागाउँमा भदौ १३ गते भएको बम बिष्फोटका कारण घाइते भएका दुई जना बालकको छाला प्रत्यारोपण गरिएको छ ।
काठमाण्डौँस्थित कीर्तिपुर अस्पतालका जलन शाखामा उपचार गराइरहेका उनीहरूको छाला प्रत्यारोपण गरी जनरल वार्डमा सारिएको अस्पताल प्रमुख डा. शङ्करमान राइले जानकारी दिए ।
‘दुवै बालकका हात खुट्टा र शरीरमा भएका गहिरो घाउमा छाला प्रत्यारोपण गरेर जनरल वार्डमा सारेका छौं, अवस्था खतरामुक्त छ । सम्भवतः २ देखि ३ हप्तामा ठीक भएर घर फर्किन सक्छन् ।’ डा. राईले भने ।
बिष्फोटमा घाइते भएका ११ वर्षीय पवन र ७ वर्षीय दिप्सनलाई भदौ १९ गते कीर्तिपुर पु¥याए उपचार सुरु गरिएको थियो । उनको अवस्था खतरामुक्त भएकासँगै भदौ २४ गते छाला प्रत्यारोपण गरी जनरल वार्डमा सारिएको अस्पतालले जनाएको छ ।
भदौ १३ गते घाइते भएका उनीहरूलाई केहिदिन पाँचथर अस्पतालमा उपचार गरेर कोशी अञ्चल अस्पताल विराटनगर पठाइएपनि अविभावकले आर्थिक अभाव देखाउँदै पुनः पाँचथर फर्काएका थिए । तर, बाल अधिकारका क्षेत्रमा क्रियाशिल सिविन नेपाल र मानव अधिकारका क्षेत्रमा क्रियाशिल इन्सेकको पहलमा उनीहरूलाई काठमाण्डौँ लगिएको थियो ।
काठमाण्डौँसम्म लैजाने खर्चको प्रवन्ध फालेलुङ गाउँपालिकाले मिलाएको थियो । बालकद्वयको अवस्था बुझ्न तीनदिन अघि स्वास्थ्यमन्त्री प्रदीप पौडेल कीर्तिपुर अस्पताल पुगेका थिए ।
पौडेलले घाइतेको उपचार खर्च व्यहोर्ने प्रतिवद्वता पनि व्यक्त गरेका थिए । पौडेलकै प्रस्तावमा भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले घाइतेद्वयको उपचार खर्च सरकारले व्यहोर्नुका साथै सोही घट्नामा ज्यान गुमाएका दिप्सन सावा र प्रिन्सा साँवाका अविभावकलाई १० लाख रुपैंया क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
बालकद्वयको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका संविधानसभा सदस्य भीष्मराज आङदेम्बे र कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती लगायतले उनीहरूको उपचार खर्च व्यहोर्न मन्त्री पौडेलसँग आग्रह गरेका थिए ।
भदौ १३ गते फालेलुङ ५ प्राङवुङको डाडागाउँ टोलका आइतराज केरुङको घरमा विष्फोट हुँदा चार जना बालबालिका घाइते भएका थिए । जसमध्ये स्थानीय दिलीप र पूजा सावाँका छोराछोरी दिप्सन र प्रिन्साको सोही राति निधन भएको थियो ।
द्वन्दकालमा तत्कालीन माओबादीले लुकाएर राखेको बम विष्फोट हुँदा उनीहरू घाइते भएका हुन् । जस्लाई सेनाले ‘इम्प्रो एक्स्प्लोसिभ डिभाइस’ भनेको छ ।
प्रतिक्रिया