विराटनगर : बिहीबारदेखि मोरङको कटहरीमा कृषि मेला आयोजना हुने भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरनजिकै रहेको कटहरीमा पहिलोपटक कृषि मेलाको आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
कटहरीको कृषि थोक बजारमा भदौ २७ देखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको वृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ गरिने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
एक्स्पोमा एक सय ३० वटा स्टल रहनेछन् भने भारतको कोलकत्ता र बिहारका समेत २० वटा कृषिका स्टलहरू रहने राउतले बताए ।
एक्स्पो अवधिभर कृषि, पशुपंक्षी, कष्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि, पर्यावरण–मैत्री ज्ञान, सीप र प्रविधिलगायत विषयमा नेपाल र भारतका विज्ञहरूबीच संवाद हुने छ । कृषि औजारको प्रदर्शनी, उन्नतजातका पशुपंक्षीको प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजको प्रतियोगिता खेतदेखि भान्साको अनुभव र फुट फेस्टिबल गरिने राउतले बताए ।
उनका अनुसार मेला अवलोकन गर्न बाहिरी जिल्लाबाट आउनेका लागि खाना र बस्न निःशुल्क गरिएको छ । पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए ।
कोशी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने उदेश्यसहित आयोजना गरिएको एक्स्पो सम्पन्न गर्न एक करोड खर्च लाग्ने अनुमान गरिएको राउतको भनाइ छ ।
उनका अनुसार कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाइ भन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई दृष्टिगत गरेर उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकासका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एक्स्पोले रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पु¥याउने लक्ष्य राखिएको छ ।
एक्स्पोलाई व्यवस्थित र सहज बनाउन ५ वटा ब्लक छुट्याइएको छ । ‘ए’ ब्लकमा पशुपंक्षी, ‘बी’मा कृषि, ‘सी’मा मेसिनरी, ‘डी’मा फुड स्टल र ‘ई’मा गोष्ठी तथा परामर्श सेवा रहेको जानकारी उनले दिए । उनका अनुसार कृषि व्यवसायीबीच विटुवी कार्यक्रम समेत राखिएको छ । एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।
कोशी प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एसडीसीले एक्स्पोको प्रवद्र्धन गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया