विनोद चौधरीको पहलमा सुस्तापारीका ३५० घरधुरीमा बल्ने भयो

सोमबार, ३१ भदौ २०८१
काठमाडौं : सांसद विनोद चौधरीको पहलमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका– ५ का करिव ३५० घरधुरीमा विजुली बल्ने भएको छ । प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि अब नारायणी नदीपारिको सुस्ता बस्तीमा विजुली बल्ने भएको छ । सांसद चौधरीले निर्वाचनका बेला उक्त ठाउँमा विजुली बाल्ने प्रतिवद्धता जनाएका थिए । उनले निर्वाचित भएपछि निरन्तर उक्त ठाउँमा विजुली लैजान उर्जा मन्त्रालय र विद्युत प्राधिकरणमा पहल गर्दै आएका थिए ।नारायणी नदीमा निर्माण गरिएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पुर्‍याइएको हो । चौधरीको निरन्तर पहल र संयोजनका कारण तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सिमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारणलाइनको विद्युतसँग जोडिएको छ ।सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई नै लिएर सुस्ता पुगेका थिए । त्यसपछि ०७९/८० मा विद्युतीकरणको काम सुरु गरिएको थियो । तर तत्काल नारायण नदि पारी विद्युतको लाइन लैजान सम्भव भएन । अहिले नारायणी नदिमा झोलुंगे पुल निर्माणको कार्य सम्पन्न भएपछि पुलकै बाटो भएर विजुलीको लाइन लगिएको हो । सहुलियतमा विजुली दिन सांसद चौधरीको पहल नेपालकै लामो झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै विजुलीको लाइन पनि जोडिएपछि सांसद चौधरी ३५० घरधुरीमा सहुलियतमा विजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरिसकेका छन् । उनले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको विजुलीका लागि आग्रह गरेका हुन् । सांसद चौधरीले यसका लागि पटकपटक प्राधिकरणाक प्रवन्ध निर्देशक घिसिङ र उर्जामन्त्री दीपक खड्कासँग छलफल गरेका छन् ।सांसद चौधरीले भने, नेपाल विद्युत प्राधिकरण र स्थानीय पूर्वाधार विभागबीच सम्झौता भएपछि सुस्ता पारीका जनतालाई केही सहुलियत दरमा विद्युत् उपलब्ध गराउँन हामी प्रयासरत छौं । वर्षौं अध्यारोमा बस्न बाध्य सुस्तापारीका नागरिकको घरमा अब छिट्टै बत्ती पनि बल्नेछ । नागरिकको अनुहारमा खुसी ल्याउन सकेका दिन हामी पनि खुसी हुन्छौं । राष्ट्रपति रामचन्द्र पौडेलले झोलुंगे पुलको उद्घाटन गर्ने तय भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार