धरानमा चन्द्रप्रसाद श्रेष्ठ शिक्षा पुरस्कारबाट चार जना पूर्व शिक्षकहरू सम्मानित

शुक्रबार, ११ असोज २०८१
धरान : चन्द्रप्रसाद श्रेष्ठ शिक्षा पुरस्कारबाट चार जना पूर्व शिक्षकहरू सम्मानित भएका छन् । सम्मानित हुनेमा ‘किरातेश्वर मावि धरान १९ मा वि.सं.२०३६ साल देखि ३६ वर्ष कार्यरत रहेकी शिक्षिका चन्द्रकला प्रधान, २०२५ सालबाट त्रियुगा मावि गाईघाटबाट शिक्षण पेशा सुरु गरी महेन्द्र मावि चक्रघटी, भगवती मावि इनरुवा हुँदै २०४८ सालदेखि २०६५ सालसम्म शिक्षा निकेतन स्कुल धरानको प्रधानाध्यापक सम्हालेका गोकुलप्रसाद श्रेष्ठ रहेका छन् । यसैगरी शिक्षा निकेतन माविमा २०१७ सालबाट शिक्षण पेशा सुरुवात गरी २०५७ सालमा जनसहयोग मावि तरहराबाट सेवा निवृत्त भई ४० वर्ष शिक्षण पेशामा योगदान दिएका महेन्द्र झा र २०२३ सालबाट पञ्चायत मावि धरानको विद्यालयबाट शिक्षण पेशा सुरु गरी २०४८ देखि २०४९ सम्म ज्ञानोदय माविको प्रअ, २०४९ सालदेखि २०६५ सालसम्म पब्लिक स्कुलको प्रअको रूपमा कार्यरत भई करिब ४० वर्ष शिक्षण पेशामा रहेका कमल पोखरेल रहेका छन् । उनीहरूलाई जनही नगद १० हजार एक सय रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, पुरस्कार कोषका अध्यक्ष तिलक राई, समाजसेवी चन्द्रप्रसाद श्रेष्ठ लगायतले सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले राजनीतिलाई शुद्ध, नैतिकवान, आदर्श जिम्मेवार राम्रो बनाउनका निम्ति शिक्षक, प्राध्यापक, डाक्टर, वकिलहरू राजनीतिमा आउनुपर्ने तर्क गरे । राजनीतिलाई शुद्ध बनाउने नाममा शिक्षक, प्राध्यापकलाई आस्था राख्नसमेत नपाउने गलत परिभाषा भइरहेकोसमेत उनले बताए । “शिक्षक, प्राध्यापक, डाक्टर, पाइलट राजनीतिमा नआउने हो भने कस्तो राजनीति हुन्छ ?” उनले भने । आफू विद्यार्थी हुँदा पनि राजनीति गरेको र शिक्षक हुँदा पनि राजनीति गर्दै आएकोले र शिक्षण पेशाबाटै आफू राजनीतिमा आएको उनको भनाइ छ । शिक्षकलाई राजनीतिबाट अलग राख्नु गलत भाष्य निर्माण गर्न खोजिरहेको उनको जिकिर छ । कोषका अध्यक्ष तिलक राईले साढे तीन लाख रुपैयाँ कोषमा भएको बताए । दुई वर्षको दुईदुई जना गरेर चार जनालाई सम्मान गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार