वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं ११ स्थित मधुवनमा बजार अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन सुरु गरिएको हो ।
दसैँ ,तिहार लगायतका चाड पर्वहरू नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढी, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।
बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा सोमवार मधुवनका बजारमा रहेला पसलहरू अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमन टोलीले बजारमा रहेका खाद्यान्न किराना पसल, फलफूल पसल , चिसो पदार्थको डिलर , मासु पसलहरूको अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख तिवारीले जानकारी दिए ।
अनुगमनको क्रममा ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल , म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई जरिवानासँगै सामाग्री नष्ट तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीले खाद्य सामाग्रीको नमुना सङ्कलन समेत गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिएर जरिवानामा समेत गरिएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख खाद्य अनुसन्धान अधिकृत संगम दाहाल , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया