पवन तिमिल्सिनाकाठमाडौं : गत शुक्रबार र शनिबारको भीषण वर्षाले पुर्याएको क्षतिका कारण अझै पाँच मुख्य राजमार्गका ३१ स्थान अवरुद्ध छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी अवरुद्ध सडक खुलाउन सरकारले आफ्ना सबै जिम्मेवार निकायमार्फत युद्धस्तरमा कार्य गरिरहेको बताएको छ ।
मन्त्रालयका अनुसार बिपी राजमार्गअन्तर्गतको १८ किलोमिटरअन्तर्गतको चौकीडाँडा–कालढुंगा खण्डको करिब १२ किलोमिटरको सडक पूर्ण रूपमा बगेका कारण बिचबिचमा सवारीसाधन रोकिएका छन् । दुवैतर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायी यातायात सञ्चालन गर्ने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
अरनिको राजमार्गअन्तर्गतको पाँच किलोमिटर दूरीको लार्चा–कोदारी खण्डको लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएपछि त्यहाँको यातायात अवरुद्ध छ । लार्चामा ह्युम पाइप–पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
पुष्पलाल ९मध्यपहाडी० राजमार्गको ८० किलोमिटरको दोलालघाट–राकथुम खण्डका धेरै ठाउँमा पहिरो गई सडकसमेत बगेको छ । दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । सडक सफा गरी बर्दीबासबाट बिपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराउन लागेको मन्त्रालयले जानकारी दिएको छ ।
कान्ति राजपथको घपेली–बगुवा खण्डको १३ किलोमिटर र बागमती पुलको दायाँ–बायाँ एप्रोचमा पहिरो सफा गर्ने काम भइरहेको उल्लेख छ । मकवानपुर तथा ललितपुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । त्यस्तै, बागमती पुलको एप्रोच छिटोभन्दा छिटो निर्माण गरी सवारीसाधन सञ्चालन गराउने उल्लेख छ ।
मेची राजमार्गअन्तर्गतको रमिते–फिदिम खण्डको आठ किलोमिटर सडकखण्ड, होवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । होवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने बताइएको छ ।
११ र १२ असोजमा आएको अविरल वर्षाले देशका विभिन्न भागका नदीहरूमा आएको बाढी तथा पहाडी भेगको पहिरोले जनधनको ठुलो क्षति भएको छ । प्राकृतिक विपत्तिले सडक, पक्की पुल, झोलुंगे पुल, विद्युत्, खानेपानी, टेलिफोनलगायतका पूर्वाधारमा भारी क्षति पुगेको छ ।
भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको छ भने पाँचवटा राजमार्गमा पर्ने आठवटा पक्की पुल बगाएको छ । सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालनमा ल्याइसकेको मन्त्रालयले जानकारी दिएको छ । तर, पुल बगाएको स्थानको यातायात भने ठप्प छ ।
‘अझैसम्म पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ । यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ,’ मन्त्री देवेन्द्र दाहालले भने ।
चाडपर्वको मुखमा आइपरेको प्राकृतिक विपत्तिले एक किसिमको अत्यास नै सिर्जना भएको उनले बताए । सर्वसाधारणहरू गाउँघर जान पाइने–नपाइने अन्योलमा परेको, तर सरकारले युद्धस्तरमा काम गरिरहेको उनको भनाइ छ । ‘तपाईं–हामी सबैलाई थाहा छ, यो प्राकृतिक विपत्ति हो । प्राकृतिक विपत्तिसँग हामी जुध्न सक्दैनौँ, तर हामीले यसको तदारुकताका साथ व्यवस्थापन गर्दै जानुपर्छ । यस सन्दर्भमा सरकारले आफ्ना सबै जिम्मेवार निकायमार्फत युद्धस्तरमा कार्य गरिरहेका छन् ।’
यातायात क्षेत्र व्यवस्थापन र सञ्चालनमा के हुँदै छ ?
बाढीपहिरोले अस्तव्यस्त बन्न पुगेको यातायात क्षेत्र व्यवस्थापन र सञ्चालनका लागि मन्त्रालय तथा यातायात व्यवस्था विभागले विभिन्न पक्षहरूसँग छलफल र परामर्श गरिरहेका छन् ।
बाढी एवं पहिरोमा परी अलपत्र यात्रु एवं यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवं राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोधसहित पत्राचार गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
त्यस्तै, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न र गर्नैपरे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
१२ असोजबाट अग्रिम टिकट बुकिङ गरेर यात्रुलाई सुरक्षित ढंगले प्राथमिकता दिई यात्रुलाई गन्तव्यस्थलमा पुर्याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरेको मन्त्रालयले जनाएको छ । देशैभरिको विपत् एवं सडकको अवस्थाको एकीकृत र भरपर्दो सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई नियमित रूपमा फेसबुक पेजमार्फत ताजा सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको उल्लेख छ ।
काठमाडौंबाट छुट्ने यात्रुवाहक बसहरूलाई सडकको अवस्था हेरी सुरक्षित ढंगले सवारीसाधन, परिस्थिति हेरी उज्यालो समयमा नै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको मन्त्रालयले जनाएको छ । यात्रुहरूको सहज आवागमन तथा उद्धार र राहतलाई प्रभावकारी बनाउन १४ असोजदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट नेपालभरि खुला गरिएको उल्लेख छ ।
सवारीसाधनमा अत्यावश्यक प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पानी र आवश्यक खानेकुरा बोकेर मात्र गन्तव्यतर्फ लाग्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश तथा स्थानीय तहलाई आ–आफ्नो क्षेत्राधिकारभित्र यातायात व्यवस्थापनमा सहयोग गर्न अनुरोधसहित आह्वान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
यात्रुहरूको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षको स्थापना र सञ्चालन गरिएको छ । सडकको अवस्था हेरेर मात्र सम्बन्धित रुटमा अग्रिम टिकट बुकिङ गर्न यातायात व्यवसायीहरूमा अनुरोध गरिएको छ । सडकको अवस्थाको जानकारी लिन तथा यात्रुलाई परेका समस्या तत्काल सम्बोधन गर्ने समूहको गठन गरिएको मन्त्रालयले जनाएको छ । यो समूहको समन्वय नेपाल प्रहरी प्रधान कार्यालयले गर्ने गरी निर्णय भएको छ ।
अस्थायी यातायात खुलाउनै तीन अर्ब खर्च लाग्ने, दीर्घकालीन पुनर्स्थापनागर्न २५ अर्बसम्म लाग्ने
बाढीपहिरोले ठप्प यातायात तत्कालै खुलाउन करिब तीन अर्ब रुपैयाँ लागत लाग्ने सरकारले अनुमान गरेको छ । मन्त्रालयले विभिन्न स्थानमा गएको पहिरो पन्छाउन, अस्थायी पुल बनाउन तथा सडक डाइभर्सन निर्माणमा तीन अर्ब लाग्ने जनाएको हो । क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया