काठमाडौँ महानगरको सार्वजनिक स्थलमा धूम्रपान गरे अब ५०० रुपैयाँ जरिवाना

शनिबार, १० साउन २०८२

काठमाडौँ : अब काठमाडौँका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे कडा जरिवाना तिर्नु पर्नेछ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान पूर्ण रूपमा निषेध गर्ने निर्णय सार्वजनिक गरेको छ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले नगर सभाबाट पारित आर्थिक ऐन २०८२/८३ अनुसार सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्धित गरिएको जानकारी दिए।

साउन ९ गतेदेखि एक महिनासम्म जनचेतनामूलक प्रचारप्रसार गरिने र भदौ १ गतेदेखि कारबाही प्रक्रिया सुरु हुने बताइएको छ।

पहिलो पटक ५ सय, दोहोर्‍याएमा दोब्बर जरिवाना

सार्वजनिक स्थानमा धूम्रपान गरेको भेटिए पहिलो पटक ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। दोहोर्‍याएर नियम उल्लङ्घन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था गरिएको छ।

प्रमुख पाण्डेले भने, 'निजी क्षेत्र बाहेक सबै सार्वजनिक स्थलमा धूम्रपान निषेध गरिएको छ। हटलाइनमा यस्ता गुनासा बढेका कारण कारबाही आवश्यक भएको हो।'

कुन–कुन सार्वजनिक स्थान ?

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन अनुसार सार्वजनिक स्थानमा धूम्रपान निषेध गरिएको हो। ती स्थानमा सरकारका कार्यालय,अस्पताल, विद्यालय, सार्वजनिक यातायात, विमानस्थल, बाल उद्यान, होटल, बार, सिनेमा हल, रेस्टुरेन्ट, धार्मिक स्थल, क्लब, रङ्गशाला, डिपार्टमेन्ट स्टोर, व्यायामशाला, सार्वजनिक शौचालय लगायत रहेका छन्।

निजी घरभित्र पनि सावधानी

ऐन अनुसार निजी घर वा सवारी साधनभित्र अरू व्यक्तिलाई असर पर्ने गरी धूम्रपान गर्न पाइँदैन। व्यवस्थापकले पर्यटकीय होटल वा विमानस्थलमा विशेष छुट्टिएको स्थानमा मात्र धूम्रपानको व्यवस्था गर्न सक्नेछन्। तर, त्यसका लागि सबैले देख्ने गरी सूचना पाटी टाँस्नुपर्नेछ।

महानगरले धूम्रपानजन्य गुनासोमा आधारित भएर यो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउने बताएको छ। यस निर्णयले सार्वजनिक स्वास्थ्यमा सुधार र नागरिक सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार