नेपालको वनस्पती, जापानमा पैसा !

शुक्रबार, २५ असोज २०८१
इलाम : पहाडी जिल्लामा पाइने वनस्पती जापानमा पैसा निर्माण गरिन्छ । अर्गेलीलाई नेपालमा पहाडे अर्थात् हाते कागज निर्माण गरिन्छ । सोही वनस्पतीबाट जापानमा पैसा निर्माण हुने गरेको छ । इलामसहित पाँचथरमा अर्गेली अर्थात लोक्ता उत्पादन हुन्छ । मनग्ये रूपमा उत्पादन हुने लोक्ताको मागसमेत राम्रो भएपनि यहाँका किसानले पुरानै ढाँचामा यसको प्रशोधीकरण गर्दै आएका छन् । यसलाई पहाडे कागजसमेत भन्ने गरिन्छ । नेपालबाट जापानिज पैसा बनाउनसमेत लोक्त बाहिर निर्यात हुने गरेको छ । पहिलाभन्दा हाल किसान यस खेतीमा लागेपनि अझै व्यावसायिक उत्पादनका धेरै किसान संलग्न हुन सकेका छैनन् । अर्गेलीको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बर्सेनी बढ्दै गएको पाइन्छ । सरकारले अर्गेली उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरण र आवश्यक सहयोग गर्न नसक्दा पनि उल्लेखनीय मात्रामा किसानहरू यसमा संलग्न नरहेको जानकारहरू बताउँछन् । नेपालमा उत्पादन हुने अर्गेलीबाट जापाननिज पैसा ‘येन’ निर्माण हन्छ । जापान नै निर्यात हुने अर्गेलीको मागसमेत उच्च रहेको छ । सा–साना पोथ्रा बुट्यानका रूपमा उत्पादन हुने लोक्ताको बोक्राबाट कागज निर्माण गन सकिन्छ । नेपाली कागज वा काँचो कागज भनेर चिनिने लोक्ता प्रशोधीकरणमा समस्या भएका कारण पनि धेरै किसान यसमा संलग्न हुन नसकेको बताइएको छ । पछिल्लो समय खेती गर्ने किसान र प्रशोधित गर्ने साना उद्योगको संख्यामा बृद्धि भएपनि कति किसान यसमा संलग्न छन् भन्ने कुनै तथ्यांक छैन । तर, स्थानीयले यसमा आफूहरूको ध्यान जान थालेको बताउने गरेका छन् । देउमाई नगरपालिका एकका पूर्णबहादुर राईले जंगलमा नै पाइने लोक्ताको महत्व पछिल्लो समय बढ्दै गएको बताए । उनले पहिला यसलाई आफूहरूले खासै वास्ता नगरेको भएपनि पछिल्लो समय धेरै किसानले यसको खेती गर्न थालेको बताए । जापानी नोट ‘येन’ को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । इलाम, नगरपालिका, देउमाई नगरपालिका, सन्दकपूर र माइजोगमाई गाउँपालिकाभित्रका किसानले उत्पादित अर्गेली जापान निर्यात गर्दै आएका छन् । प्रशोधित अर्गेली प्रतिकिलो ५ सय रूपैयाँमा बिक्री भइरहेको इलाम नगरपालिका–३ का किसान सन्तोष राईले बताए । यस वर्ष इलाम नगरपालिका ३ पुवामझुवा क्षेत्रका किसानले २० टन अर्गेली संकलन गरी जापान निर्यात गर्ने लक्ष्य राखेका छन् । स्थानीयबासीको आय वृद्धिका लागि अर्गेलीलाई भरपर्दो माध्यमको रूपमा विकास गर्नुपर्ने माग गर्दै आएका छन् । उच्चस्तरको प्रशोधित अर्गेलीको माग भएपनि मागबमोजिमको निर्यात योग्य बनाउन आधुनिक प्रविधिको अभाव छ । उद्योग क्षेत्रको विकासका लागि हरेक स्थानीय तहमा लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएपनि अर्गेली खेती र प्रशोधनबारे स्थानीय तहको ध्यान पुगेको छैन । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताइन्छ । रोपिएको अर्गेलीको बिरूवा तीन वर्षमा बेच्नका लागि तयार हुन्छ । एकपटक उत्पादन भएको अर्गेली पुनः पलाउने र तीन वर्षमा संकलन गर्न सकिने भएकाले लगानी धेरै नहुने किसानहरूको भनाइ छ । चिसो मौसम र हावापानी भएका स्थानमा र पाखो बारीको सदुपयोग गरेर लगाउन सकिने अर्गेली प्रशोधीकरणका लागि आधुनिक प्रविधि हन सके उत्पादन दोब्बर बनाउन सकिने किसानहरूको भनाइ छ । नेपालबाट हरेक वर्ष ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ । राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा यसबाट कमाई हुने आशा जगाएको छ । तर, यसको प्रशोधनमा आधुनिक उपकरण नआउँदा समस्या भएको किसानहरूको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार