रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा हिन्दू नारीको महान् चाड हरितालिका तिजको रौनकताले झप्पकै छोपेको छ ।
अहिले गाउँ घर र शहर, बजारमा चहलपहल सुरु भइसकेको छ भने बजारमा किनमेल गर्नेहरूको भिडभाड उत्तिकै बढेको छ । तीजमा महिलाहरू माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा रहेको देखिन्छ ।
विशेष गरी हिन्दू महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ ।
तराई मधेशका पहाडी समुदायका महिलाहरूमा सीमित रहेको तीज पर्व पछिल्लो समय यहाँका मधेशी समुदाय माझ पनि लोकप्रिय छ । मधेशमा रहेका पहाडी समुदायका महिलाहरू सँगै उनीहरू पनि दरखाने र भक्तिपूर्वक उपवास बस्ने गर्दछन् ।
तीज पर्वको आफनै धार्मिक , मौलिकता र संस्कृति रहेकाले मनाउन थालिएको देवाही गोनाही नगर पालीका वडा न. ९ कि रेणुकुमारी गुप्ता बताइन् । यस पटक पनि तीजको व्रत बस्ने तयारी थालेको उनको भनाइ छ ।
तीजलाई सबै चेलीहरू जम्मा भएर सुखदुख साटासाट गर्ने निकै रमाइलो र महत्त्वपूर्ण पर्वको रूपमा लिइन्छ ।अहिले गाउँ घरमा आफन्त, नाता गोता र साथी सङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ ।
गाउँमा सामूहिक रूपमा तीजको उत्सव मनाउने क्रम पनि बाक्लिन थालिसकेको छ । यहाँका सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । चन्द्रपुरमा रहेको विन्दवासिनी सहकारीले यही भदौ ४ गते तीजको दर खाने र नाचगानको कार्यक्रम गरेको हो ।
यहाँ वित्तीय तथा अन्य सङ्घसंस्थाले पनि प्रत्येक बर्ष तिजको दर खाने र नाचगानको कार्यक्रम गर्दै आएको छ । यस वर्षका लागि केहीले दर खाने कार्यक्रम गरिसकेका छन भने धेरैजसोले मिति तोकेर तयारी थालेका हुन ।
तीज आउनुभन्दा एक साता अघिदेखि होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति अहिले पनि कायमै छ । यो तीज पर्वको मर्म र भाव विपरीत भएको चिन्ता पनि अगुवा महिलाहरूबाट नै सुनिन्छ ।
तीजमा महँगा पहिरन र गहना प्रदर्शन गर्ने होडबाजी विकृतिका रूपमा रहेको चन्द्र्पुरकि दुर्गा पौडेल लाई चिन्ता छ । तिजको परम्परा र संस्कृति जोगाउँदै महिलाले सो अनुरूपमा मनाउनुपर्ने उनको भनाइ छ ।
तीजका गीत सङ्गीत पनि पछिल्लो समयमा भने परिवर्तन हँदै गएको छ । अहिले बजारमा तीजका नाममा अधिकांश भड्किला, उत्तेजित र मायाप्रीतिका गीत आउने गरेका कारण तीजको मौलिकता र संस्कृति ओझेलमा पर्दै गएको हो ।
एक दशक भन्दा पहिला जन्म घर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुखदुख गीतबाटै भाव व्यक्त गर्दै रमाइलो गद्र्थे । तर अहिलेको तीज गीतमा त्यस्तो भाव नै पाइँदैन ।
तीजलाई रीतिरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने सचेत महिलाहरू बताउँछन्। अर्को तर्फ तीज पर्वले महिलालाई मात्र नभई व्यापारीहरूको व्यवसाय पनि फाइदा पुगेको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि तीज आउनुभन्दा अघि देखि नै चन्द्रनिगाहपुरका कपडा तथा साडी, कस्मेटिक, ब्युटी पार्लर र सुनका गरगहनाका पसलमा महिलाहरूको भिडभाड छ । यस बर्ष भाद्र ९ मा दर खाने र १० गते हरितालिका तीजको व्रत रहेको पात्रोमा उल्लेख छ ।
प्रतिक्रिया